मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद्ले विभिन्न १२ वटा निर्णय गरेकाे छ । मंगलबारकाे मन्त्रिपरिषद्काे बैठकले गाउँपालिकाले सिमाना हेरफेरकाे सिफारिस गर्नेदेखि लामाे समयदेखि संचालन हुन नसकेकाे प्रदेश सभाकाे बैठक बाेलाउनेलगायतका १२ वटा निर्णय गरेकाे हाे ।
बैठकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि संघीय सरकारमा पठाउने निर्णय गरेकाे छ । यसैगरी गत असार २० गतेपछि संचालन हुन सकेकाे प्रदेश सभाकाे बैठक बाेलाउने निर्णय गरेकाे छ । प्रदेश सभाको बैठक आगामी भदौ १७ गते दिनको १ बजेका लागि बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकाे बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरिएको श्रेष्ठले बताए ।
यस्तै प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गरेको छ भने प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि–२०८० र प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।