मकवानपुर । बागमती प्रदेशको श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गरिएको छ ।
सोमबार प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले श्रम तथा रोजगार नीति सार्वजनिक गर्दै प्रदेश सरकारले रोजगारी सृजना गर्ने नीति अगाडि सारेको बताए । मुख्यमन्त्री जम्मकट्टेलले मुख्य रुपमा रोजगारी सृजना गर्नुनै सरकारको काम रहेकाले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
‘प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग आबद्ध गर्नेछौ’ उनले भने ‘प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट विनियोजन गरेर त्यसबाट २० हजार किसानलाई रोजगारमा जोड्ने छौ ।’
अब सीप सिकेर मात्र विदेश जानुपर्ने गरी सबै युवाहरुलाई सीप सिकाउनेतर्फ आफू लागिपरेको उनले बताए । श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उनको भनाई छ ।
प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संबिधान भित्र रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताए । श्रमिकहरुको विकास गरेपछी मात्र राष्ट्रको विकास हुने बताउदै यो नीतिले बैदेशिक रोजगारी न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री लम्सालले बताए । अब मन्त्रालयले नीयम, कानून र मापदण्ड बनाएर अगाडी बढ्ने उनले बताए ।