मकवानपुर । सरकारको अडानका कारण संसद बैठक चल्न नसकेको नेकपा एमालेले आरोप लगाएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारको जबरजस्ती अडानका कारण संसद बैठक चल्न नसकेको बताएका हुन् ।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसंग बर्तौलाले सुन तस्करीको जालो अन्त्य गर्न आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद बैठक चल्न नसकेको बताए । उनले एमाले संसदमा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको बताए ।
‘हामी यो संसद चलाउन चाहन्छौं । संसदमा कुनै पनि गतिरोध निर्माण नहोस् भन्ने चाहन्छौं । यो नेकपा एमालेको स्थायी मान्यता हो’ सचेतक बर्तौलाले भने, ‘सरकार यो संसद अवरोध गर्न चाहन्छ । संसदको भूमिकालाई निस्तेज पार्न चाहन्छ । संसदलाई प्यारालाईज गर्न चाहन्छ ।’
‘प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज गर्ने, अनदेखा गर्ने, माग पूरा गर्दिन भनेर अनुचित अडान लिने एक प्रकारले भन्ने हो भने सरकार चाहीँ जब्बरजस्तीमा उभिएको अवस्था छ’ उनले भने ‘ सरकारको अनुचित र जबरजस्ती अडानका कारणले संसद सोमबार पनि अगाडि बढन सकेन । हामीले सभामुखलाई भनेको छौं–सदन सुचारु गरौं । सरकारलाई पनि आग्रह गर्यौ ।’
उनले हामीले उठाएको माग देशको हीतको पक्षमा भएको, जनताको माग सम्बोधन गर्ने प्रकृतिको भएको बताए । ‘सरकार साँच्चै यो देशमा भ्रष्टाचारलाई समाप्त पार्न चाहन्छ । तस्करको स्वर्ग नेपाल बन्ने जे परिस्थिति निर्माण भएको छ त्यसलाई अन्त्य गर्न चाहन्छ । तस्करको जालो अन्त्य गर्न चाहन्छ भने त प्रतिपक्षले उठाएको यो मागले त सरकारलाई सहयोग पुग्छ ।’ उनले भने
सचेतक बर्तौलाले एमालेले सदन सुचारु गराउन सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइरहेको बताए ।