मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा पहिरोमा परी १ जना प्रहरीको मृत्यु भएको छ । भिमफेदी–२, भैंसेमा पहिरोमा परी प्रहरी चौकी भैंसेमा कार्यरत प्रहरी जवान कृति बहादुर नेपालीको ज्यान गएको हो ।
जाजरकोट जिल्ला, शिवालय नगरपालिका–८ का २२ वर्षीय नेपाली मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल ईलाका प्रहरी चौकी भैंसेमा कार्यरत रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
विहीबार भैंसे चेकपोष्टमा डिउटीमा रहेका नेपाली चिप्लिएर लडी सामान्य घाईते भएका थिए । घाइते नेपालीको हेटौंडा अस्पतालमा उपचार गरि फर्कने क्रममा राति सुख्खा पहिरो खस्दा ढुङ्गाले लागि मोटारसाइकल चालक प्रहरी जवान सुनिल मेचेसहित नेपाली घाइते भएका थिए ।
घाईते नेपाली र मेचेलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएमा उपचारको क्रममा नेपालीको रातिनै मृत्यु भएको हो । मोटरसाइकल चालक मेचेको अवस्था भने सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ ।