मकवानपुर । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जनामध्ये १ जनाकाे घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन् ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण साउन २३ गते बिहान ४ बजे पहिरोले घर बगाउँदा हराइरहेका घिसिङलाई १४ घण्टापछि उद्दार गरिएकाे हाे । उनलाई घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घिसिङकाे खुट्टा भाँचिएको तथा प्रहरी आफन्त र स्थानीयकाे सहयाेगमा उद्दार गरी उपचारका लागि हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ । अन्य हराइरहेकाहरुकाे खाेजी जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मंगलबार विहान गएकाे पहिराेले स्थानीय अक्कल बहादुर स्याङतानकाे घर बगाउँदा स्याङतानसहित छोरी २२ बर्षीय शिला पहरी, शिलाका श्रीमान २५ बर्षीय जिबन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरी तथा पासाङ घिसिङ वेपत्ता भएका थिए ।
पहिरोमा परेकी अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्याङ्तानकाे मंगलबार विहानै उद्दार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको थियो । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको थिए ।