मकवानपुर । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
अहिले मकवानपुरसहित देस भर वर्षा भइरहेको छ । वर्षाको कारण बाढी पहिरोको जोखिम बडेको छ भने केही सडक अबरुद्ध भएको छ ।
देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसगरी, राती कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
वर्षाको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।