मकवानपुर । मन्टेश्वरीमा अक्षर सिक्दै गरेका हेटौंडा २ का ४ वर्षिय रईश इटेनीलाई साथीसँग खेल्ने क्रममा आँखामा संक्रमण स-यो, आँखा एक्कसी रातो भयो । छोराको आँखा पाक्यो क्यारे भनेर भेउ पाउन नभ्याउँदै आमा प्रतिक्षा न्यौपानेलाई पनि संक्रमण भयो ।
दुबैलेसँगै आँखा जँचाए । एकसाताको अन्तरालपछि अहिले उनीहरुलाई निको हुँदैछ । “बाबुलाई सञ्चो भयो, बरु म नै अझैपुर्ण रुपमा कम्प्युटरतिर हेर्न सकिरहेको छैन” प्रतिक्षाले भनिन् । आँखाको कारण आफ्नो दैनिकीमा धेरै समस्या भएको उनले सुनाइन् । आँखा पाक्दा मलाई त ज्वरो नै आयो, बरु बाबुलाई अरु केही भएन” उनले भनिन् । करिब १० दिनको कष्टकर समय सम्झदै उनले भनिन् “आफ्नो तर्फबाट सुरक्षित व्यवहार अपनाउनु सबैलाई सल्लाह दिन्छु ।”
गर्मी सुरु भएसँगै सर्वसाधरणलाई एकातिर डेङ्गीको संक्रमणले तर्साइरहेको छ । अर्को तिर पछिल्लो २ सातायता मकवानपुरको हेटौंडामा आँखा पाक्ने संक्रमणका बिरामी ह्वात्तै बढेका छन् । हेटौंडा स्थित सामुदायिक आँखा अस्पतालमा बिगतमा नियमित ३ सयजनाको हाराहारीमा बिरामी जाँचको लागि आउने गरेकोमा आइतबार एकै दिन ७ सयभन्दा बडी बिरामी अस्पताल आएका छन् । ७ वटा टोकन तानिएपछि अस्पतालले टोकन नै बन्द गरेको छ ।
“हाम्रो इतिहासमै सबैभन्दा बढी टोकन तानियो आज, उपचार गर्न नभ्याइने गरी टोकन मात्रै दिएर भएन अनि टोकन बन्द गर्यौ” अस्पतालका कार्यक्रम संयोजक सुशील सिंहले भने । ७ सय टोकन तानिएपछि अकस्मात बैठक बसेर टोकन रोकिएको र नियमित उपचारमा आउने बिरामीलाई केही दिन नआउन सूचना टाँस गरिएको उनले बताए ।
बिरामीको चाप अत्यधिक भएपछि अस्पतालले सूचना टाँसेर अन्य बिरामीलाई एक वा दुई सातापछि मात्रै आउन र आँखा पाकेको समस्या भएको जाँचको सहयोग गरिदिन आग्रह गरेको छ । “अन्य समस्या भएका बिरामीहरुलाई नै फेरी आँखा पाक्ने संक्रमण सर्ने डर हुन्छ, त्यसैले पनि उहाँहरुले मिलेसम्म यो अवधिभर अत्यवश्यक छैन भने नआउँदा हुन्छ” कार्यक्रम संयोजक सिंहले भने । संक्रमण हुनेहरुमा बढी बिद्यालय जाने उमेर समूहका बालबालिका रहेको छन् ।
पछिल्लो २ सातामा मात्रै हेटौंडाको सामुदायिक आँखा अस्पतालबाट २ हजारबढीले सेवा लिएको उनले बताए । “दैनिक जसो बिरामीको चाप बढ्दो अवस्थामा छ,” उनले भने “यही रफ्तामा बिरामी बढेभने ३/४ दिनमा औषधि सकिने संभावना छ ।” वीरगंजको आँखा अस्पतालले औषधि सकिएकोले आफूहरुसँग माग गरेको सिंहले बताए । आफूहरुसँग नै पर्याप्त मौजदात नभएको उनले बताए । पर्सा जिल्लाको वीरजंगमा रहेको आँखा अस्पतालमा औषधि अभाव भएपछि यहाँ बिरामीको चाप झनै बढ्ने गरेको बिगतको तथ्याङ्कले देखाउँछ ।
के हो आँखा पाक्ने समस्या ?
मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ । कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वितिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ । विद्यालय, कलेजलगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ । एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरैजनामा हुन सक्छ पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ ।
हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ । वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ । व्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन् ।
आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई कन्जक्टिवाइटिस भनिन्छ । यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन । आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ । एउटा वा दुवै आँखामा रोग देखिन सक्छ । आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन् । एलर्जिक जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ ।

जीवाणु कन्जक्टिवाइटिस एउटा आँखामा हुन्छ तर कहिलेकाँही दुवै आँखामा पनि एन सक्छ । आँखा पाक्दा आँखाबाट पिप जस्तो पदार्थ निस्किन्छ र बिहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ । परेली टाँसिएको अनुभव हुन्छ । यो समस्या अहिले जताततै देखिएको छ । आइरस कन्जक्टिवाइटिस एउटा आँखाबाट सुरु हुन्छ र सुरु अएकै केही दिनमा अर्को आँखालाई पनि असर गर्न सक्छ । आँखाबाट धेरै आँसु र पानी आउने, कानको अगाडिको भाग (प्रि–ओरिकुलर लिम्फ नोड) सुन्निने, एलर्जिक कन्जक्टिवाइटिसमा आँसु धेरै आउने र चिलाउने गर्छ । यो धेरै जस्तो मौसम परिवर्तनको समय वा धुलो धुवाँका कारण हुने गर्छ ।
आँखा पाक्ने समस्याको लक्षणहरु
एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने तथा आँखा टोसिने आँखाबाट बारम्बार पानी बगिरहने आँखामा कचेरा लाग्ने तथा टोसिने आँखाबाट आँसु बगिरहने आँखा सुन्निने आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ ।
के गर्ने ?
आँखा स्वास्थ्य चिकित्सकहरुले आँखाको हेरचाहको लागि केही सुझाव दिएका छन् । साबुन पानीले राम्ररी हात धुनुपर्छ,
आँखा सफा राख्नुपर्छ, आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्नुपर्छ र त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ, फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा पुछ्नु हुँदैन,
दिनदिन लुगा र चलाएको रुमाल फेर्नुपर्छ आँखामा लगाउने शृंगारको प्रयोग गर्न बन्द गर्नुपर्छ, अरुको लुगा, रुमाल र आँखामा लगाउने निजी शृंगारको उपकरण एकापसमा प्रयोग गर्नु हुँदैन, आफूखुसी औषधि प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ । आँखा बेस्सरी मिच्नु हुँदैन, यसो गर्दा कर्नियामा घाउ हुन सक्छ कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभई अरु रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा पनि हुन्छ ।
सकेसम्मसँगै नसुत्ने भिड भाड हुने ठाउँहरुमा नजाने, आफू सुतेको सिरानीको खोल तन्ना हरेक दिन सफा गर्ने धुने, कालो चस्माको प्रयोग गर्ने ।
घरैमा पनि हेरचाह गर्न सकिन्छ
अस्पतालमा सबै प्रकारको बिरामीहरु जमघट हुन्छन, जसले गर्दा त्यही भिडमा एक अर्कामा संक्रमण सर्ने संभावना पनि रहन्छ । यसलाई सुरुमा लाग्दै नदिन र लागेपछि पनि केही हेरचाह घरैमा गर्न सकिने स्वास्थ्यकर्मीको सल्लाह छ ।
भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ । घरमा स्याहार गर्दा भने केही कुरामा विशेष ध्यान दिनु पर्छ
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने,
घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने,
संक्रिमित आँखालाई छोएपछि राम्ररी हात धुने,
संक्रमित आँखालाई नचलाउने,
स्कुल, कलेज जस्ता भीडभाडमा नजाने,
अरुले प्रयोग गरेको रुमाल, तौलिया प्रयोग नगर्ने,
आफू खुसी औषधिको प्रयोग नगर्ने, गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने ।

बिद्यालयहरुबाट सूचना
यसैबीच आँखा पाक्ने समस्याले प्रकोपको रुप लिएपछि हेटौंडाका विद्यालयहरुले समेत अभिभावकहरुलाई सचेत रहन पत्रचार गरेका छन् । आँखा पाक्ने समस्याबाट बालबालिकाहरुलाई बचाउन विद्यालयहरुले पत्रचार गरेका हुन् । विद्यालयहरुमा अहिले पहिलो त्रैमासिक परिक्षा चलिहरेकोले बिद्यायहरु बन्द गर्न समय समेत नभएकोले रोकथाम र सचेतता अपनाउन आग्रह गरिएको हेटौंडा २ को बालजागृती बोर्डिङ स्कुलमा प्रिन्सिपल विनोद सुवेदीले बताए ।
आँखा पाक्ने समस्या भएका बाल–बालिकाहरूलाई अनिवार्य रूपमा चस्मा लगाएर मात्र विद्यालयमा पठाउन, घरमा कसैलाई यो समस्या देखिएमा सकेसम्म बाल–बालिकाहरूलाई संक्रमित व्यक्तिबाट टाढा राख्न, आफ्नो बालबालिका हरूलाई परीक्षामा आवश्यक सामग्री अनिवार्य रूपमा घरबाट नै पठाउने र साथी भाईसँग साटासाट नगर्न सुझाव दिन अनुरोध गरिएको सुवेदीले बताए ।
संक्रमित बाल–बालिकालाई अनिवार्य रूपमा स्यानीटाइजर लिएर पठाउन, बेला बेलामा प्रयोग गर्न प्रेरित गर्न, कुनै पनि सामान चलाई सकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन लगाउन, सफा पानीले आँखा पखाल्न लगाउन बालबालिकाहरुलाई सिकाउने गरेको उनले बताए ।