मकवानपुर । बागमती प्रदेश अन्तर्गतका जिल्लामा चाालु आर्थिक वर्षमा ५ वटा प्रहरी भवन निर्माण हुने भएकाे छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण हुने भएको हो ।
चालु आर्थिक आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको ४ जिल्लाका ५ स्थानमा प्रहरी भवन निर्माण हुने भएकाे हाे । ६ करोड ४४ लाख ६५ हजार लागतमा ५ वटा प्रहरी भवन निर्माण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएकाे छ । सूचना अधिकारी सुरेन्द्र कार्की अनुसार, प्रदेशको मकवानपुर, चितवन, सिन्धुली र रामेछाप जिल्लामा गरी ५ वटा भवन निर्माण गरिने छ ।
८४ लाख २२ हजार लागतमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा महिला ब्यारेक भवन, १ करोड ९८ लाख लागतमा मकवानपुरगढीमा इलाका प्रहरी कार्यालय, ९७ लाख ३३ हजारमा चितवनको रत्ननगर टाँडी, १ करोड ३३ लाख लागतमा सिन्धुली–४, खाङसाङ फिक्कलमा प्रहरी चौकी भवन र १ करोड ३२ लाख रुपियाँको लागतमा रामेछापमा जिल्ला ट्राफिक कार्यालय भवन निर्माण गरिने मन्त्रलायले जनाएकाे छ ।
मर्मतमा झन्डै दुई करोड खर्च
आव २०७९/८० मा १९ वटा प्रहरी एकाइ भवन मर्मतका लागि एक करोड ७० लाख ४० हजार रुपियाँ खर्च भएको छ । मकवानपुरमा छ, सिन्धुली र काभ्रेमा तीन-तीन, धादिङमा दुई र चितवन, दोलखा, सिन्धुपाल्चोक र रसुवामा एक-एक प्रहरी एकाइ भवन मर्मत गर्न सो खर्च लागेको मन्त्रालयले जनाएको छ । कार्यालय र ब्यारेक भवनको छाना मर्मत, रङरोगन, शौचालय, ढोका, कम्पाउन्ड, भान्छाघर मर्मतमा सो बजेट खर्च भएको मन्त्रालयले जनाएकाे छ ।
४९ वटा भवन निर्माण सम्पन्न
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म ४९ वटा प्रहरी भवन निर्माण सम्पन्न गरेकाे छ । १८ वटा भवन निर्माणाधीन छन् । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो ।
मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसँडे, प्रहरी चौकी ठुलोदमार निर्माण सम्पन्न भइसकेको छ ।
प्रदेश सरकारले मकवानपुरमा ८, चितवनमा ५, सिन्धुलीमा ७, रामेछापमा ४, दोलखामा ४, नुवाकोटमा ३, काभ्रेमा ८, धादिङमा ३, रसुवामा ४, सिन्धुपाल्चोकमा ३ वटा भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ । हालसम्म ६७ वटा प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशबाट सहयोग भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।