मकवानपुर । मकवानपुरकाे हेटौडामा मानव अधिकारी तथा महिला अधिकार सम्बन्धी तालिम सुरु भएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका १९ नम्बर वडाका स्थानीय महिला एवम् पुरुषलाई मानव अधिकार, महिला अधिकार र क्षमता अभिवृद्धिसम्बन्धी २ दिने तालिम साउन १९ बाट सुरु गरेकाे हाे ।
इन्सेकले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम सञ्चालित मकवानपुरका 2 पालिकाका स्थानीय महिला तथा पुरुषलाई तालिम दिइएको हो । जिल्ला अदालत मकवानपुरका न्यायधीश ऋषिराम निरौलाले तालिममा अरुको कुरा सुन्ने, आफ्नो अनुभव बताउने, दोधार भएका कुराहरूको स्पष्ट हुनुपर्ने र तालिममा सिकेका कुराहरू अरुलाई पनि सिकाउनु पर्ने बताए ।
‘तालिमपछि कार्यन्वयनका लागि स्थानीय तहमा समूहमा थप छलफल गर्नुपर्छ’ निरौलाले भने ‘आय आर्जनका लागि केही वस्तु र सामाग्री मागेर हैन सीप र ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सके दिगो रूपमा स्थायित्व हुन सकिन्छ ।’ इन्सेक महासचिव डा. रघुनाथ अधिकारीले लैङ्गिक समानताको लागि सबै कार्यक्रममा महिला सहभागिता हुन जरुरी रहेको बताए महिलाको अधिकार स्थानीय तहबाट कार्यन्वयनको लागि सबै युवा तथा पुरुषको भूमिका रहने अधिकारीले बताए । ‘अवसर र पहुँचको अभावमा महिला, दलित र विपन्न वर्ग अझैपनि अधिकारको पहुँचबाट पिछडिएका छन्’ अधिकारीले भने वञ्चितिमा रहेका वर्गलाई विकासको मूल प्रवाहिकरणमा ल्याउँदै मानव अधिकार मैत्री विकास गरिनु पर्छ । आर्थिक उन्नयन बिना मानव अधिकार प्राप्त हुन नसक्ने हुँदा सचेतना शिक्षाका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उनले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नागरिक अधिकार र राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विकासमा समेत सचेत रहनुपर्ने बताए । ‘मानव अधिकारको विकासमा सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुन्छ’ उनले भने ‘मानव अधिकार अराजकता होइन, नागरिकले अधिकारसँगै कर्तव्य पनि निर्वाह हुनुपर्छ ।’
इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले तालिमले स्थानीय स्तरमा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पहिचान गर्न सहज हुने बताए । ‘स्थानीय तह मानव अधिकारमैत्री हुनुपर्छ’ उनले भने । वडामा आय आर्जनमा आवद्ध महिला समूहलाई मानव अधिकार, महिला अधिकार, घरेलु हिंसाको पहिचान, न्याय प्रकृयामा पहुँच र नेतृत्व विकासमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएकाे भण्डारीले बताए ।
मनहरी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले तालिम मानव अधिकार उल्लङ्घन हुने अवस्थाकाे जानकारी लिन उपयुक्त रहेको बताए । ‘अधिकारको साथसाथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि ध्यान दिनुपर्छ’ उनले भने । मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनालले हरेक क्षेत्रमा अगाडि बढ्न आफू सक्षम बन्न जरुरी रहेको बताए । हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष नरनाथ सुवेदीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरूको उपलब्धीहरू, सिकाई, चुनौती र दिगोपनका विषयकाे आफ्नै महत्व रहेकाे बताए । ‘मानव अधिकार उल्लङ्घनको कुरा सबैले वडा कार्यालयमा जानकारी गराएमा यसको कानुन बनाउन र कार्यन्वयन गर्न सजिलो हुन्छ’ उनले भने ।
इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिहरूका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारवालसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरू गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताए ।
डब्लुपिडिकी फिल्ड सुपरभाइजर तिल कुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरणका लागि महिला र पुरुष दुवै समन्वय र सहकार्य गर्दै महिलाहरूलाई आयआर्जन कार्यमा आफै आत्मनिर्भर बनाउनु पर्ने बताइन् ।महिला आफैमा सक्षम भएमा सबै क्षेत्रमा अगाडि बढ्न सक्ने र महिला हिंसा न्यूनीकरण हुनेछ हुमागाईंले भनिन् ।