मकवानपुर । चोरी भएकाे सुनचाँदीकाे गहन किनेको आरोपमा हेटौडाकाे १ सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा २ कान्तिराजपथ स्थित पूर्ण शाक्य एण्ड सन्स सुनचाँदी पसलका सञ्चालक प्रतीक शाक्यलाई चोरीकाे गहना किनेकाे आराेपमा पक्राउ गरेकाे हाे ।
शाक्य गत साउन ११ गते पसलबाटै पक्राउ परेका हुन् भने शाक्यसहित गरगहना चाेरी गरी बिक्री गर्ने दिनेश नेपालीलाई समेत प्रहरीले पक्राउ गरेकाे छ । चाेरीका सुनचाँदी गहना बिक्री गर्ने हेटौंडा-६ स्थित चुच्चेखोलाका ३४ वर्षीय नेपालीलाई घरबाटै पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडा-१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट नेपालीले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट चोरी गरेका गरेका थिए । दिनेशले बिल सहित चोरी गरेको गरगहना शाक्यको पसलमा बिक्री गरेका थिए । पक्राउ परेका शाक्य र नेपाली दुवैलाई चोरीको आरोपमा मुद्दा लगाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।