मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत शेखर ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिकाका नगर कार्यपालिकाकाे कार्यालयका लेखा अधिकृत ढकालविरुद्ध अख्तियारले २ लाख बिगो कायम गर्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेकाे हो । लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भारको भुक्तानी दिन सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।
सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीकाे टोलीले ढकाललाई सेवाग्राहीबाट २ लाख रुपैया घुस लिइसकेको अवस्थामा गत असार २२ गते नियन्त्रणमा लिएको थियो।
लेखा अधिकृत शेखर ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।