मकवानपुर । हेटौडा उपमहनागरपालिका वडा नम्बर १५ बाट अवैध कपडा, प्रतिबन्धित औषधी ट्रामाडोल र ट्रकसहित १ जना पक्राउ परेका छन् । हेटौंडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले १४ लाख ४७ हजार बराबरको अवैध कपडा, ७ काटुन प्रतिबन्धित औषधी ट्रामाडोल, म्याद सकिएको मल्टी भिटामिन र ट्रकसहित १ जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलकाे १४ नम्बर गणले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट उक्त परिणामकाे कपडा, औषधीसहित ट्रक चालक काभ्रे देउपुर नगरपालिकाका–९, मन्डनका ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटालाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल मकवानपुर १४ नम्बर गणका गणपती प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार सशस्त्र प्रहरीले बुधबार राती वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनर ट्रक राताेमाटेमा जाँच गर्दा ५ सय १३ थान कुर्था, ३० थान पाइन्ट, २ सय थान टि–र्सट, प्रतिवन्धित औषधि ट्रामाडोल १ लाख ३१ हजार ७ सय ६० ट्याव्लेट र म्याद गुज्रिएको १ सय ५० वटा महरिच मल्टिभिटामिन बरामद गरिएकाे हाे ।
बुधबार बरामद गरिएका ट्रक सहितकाे सामग्री हेटौंडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणकाे प्राङ्गणमा विहीबार सार्वजनिक गरिएकाे हाे । नियन्त्रणमा लिइएका सापकाेटामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।