मकवानपुर । जीवनकाे लागि रुख अनिवार्य छ, पर्यावरिण बचाउनकाे पनि बिरुवा अत्यावश्यक छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले आफ्नाे जन्मदिन बिरुवा राेपेर मनाएका छन् ।
पुर्व मन्त्री समेत रहेका श्रेष्ठले हेटौँडा १३ मा रहेको वनस्पति अनुसन्धान केन्द्र, वृन्दावन वनस्पति उद्यानमा वृक्षारोपण गरेका हुन् ।बागमती प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व मन्त्री श्रेष्ठले जन्मदिनमा रुद्राक्षकाे बिरुवा रोपेर हुन् । हरेक व्यक्तिले जन्मदिनमा एउटा वृक्षरोपण गर्ने परिपाटीको विकासको लागि आफूले रुद्राक्षकाे विरुवा राेपेकाे उनले बताए । हरेक नागरिकले आफ्नो जन्मदिवसको अवसरमा एक विरुवा रोपेमात्र पनि पर्यावरण जाेगाउन सकिने, वातावरण स्वच्छ हुने बताउँदै उनले आफूले यस्तो कार्यको थालनी गरेको बताए ।
बुधबार बिहान उद्यानमा पुगेर अध्यक्ष श्रेष्ठले उद्यान क्षेत्रको अवलोकन समेत गरेका थिए । उनले उद्यानलाई थप ब्यवस्थित बनाउन आफ्नो तहबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुलीले आफ्नो जन्मदिनमा अवसरमा शुरु गरेको वृक्षा रोपण अभियानलाई वन नियमावली २०७९ मा कानुनी मान्यता पाएको छ बताए । ‘अहिले वृन्दावन वनस्पति उद्यान, हेटौंडा र पर्वतीय वनस्पति उद्यान, दामनमा यो प्रावधान कार्यान्वयनमा आएको छ’ उनले भने ।
एक विरुवा रोपण गरेको २ हजार राजस्व लाग्छ । राजस्वको प्रावधान आएपछि वृन्दावन र दामनमा गरी कूल ४७ वटा विरुवा रोपण भएको छ भने राजस्व प्रावधान लागू नहुॅदैको अवधिको समेत गरी दुवै उद्यानमा गरेर हालसम्म १ सय १० विरुवा रोपण भएको पराजुलीले जानकारी दिए ।
यो अभियान नेपालमै नौलो अभियान हो । अभियानमा सामान्यदेखि विशिष्ट व्यक्तिहरुले विभिन्न दिवसको अवसरमा विरुवा रोप्दै आएका छन् ।