मकवानपुर । ५ वर्षीय नाबालिकालाई हत्या गरेर फरार रहेका हेटौंडा–११, सिमलटारका ४५ वर्षीय सोम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई घटना भएकाे २० वर्ष पछि ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरिएकाे प्रदेश प्रहरी प्रवक्ता दिपक रेग्मीले जानकारी दिए । २०६० साल असोज १८ गते हेटौंडा–११, सिमलटारका प्रेम बहादुर थापा क्षेत्रीको ५ वर्षीय नाबालिका छोरीलाई राईले जबरजस्ती करणीपछि हत्या गरेका थिए । नाबालिकाको शव भोलिपल्ट हेटौंडा–१० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको थियो ।
राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।