गीता अर्याल
थिएन हिजो राती
मस्त निन्द्रा पनि
सोचिँरहे मनभरी
मन पोलेका कथा कहानी पनि।
स्वार्थीले भौतिकता छामेर
हृदय दुखाएका दिन पनि
भनीरहेँ कस्तो जिन्दगी यो
भावीको खेल पनि।
सम्झिरहेँ कसैले भनेका कुरा
मन शान्त पार स्वार्थ छैन केहि
हृदय खुशी हुने मात्र काम गर
यस्तै अमृतरुपी वचन पनि।
फेरि सम्झिए,
केहि लेख केहि गर
केहि त गर भनेर
प्रेरणा दिएका प्रसंग पनि।
तर ,
म नि:शब्द छु आज
कसैका त्यी प्रेरणामा खेल्न नसक्दा
न लेख्न आउछ
न शान्त बस्न
न खुशी हुन।
मात्र मन पोलेको छ
एउटै प्रश्नले जिस्काएको छ
कोही कसैले स्वार्थ लुटेर
बेहद खुशी हुँदै रमाएको दिन सम्झेर
ब्वाँसाका निर्दयी नङ्ग्रा संझेर
किन खेल्यो खेल भनेर ।
निन्द्रा बिर्सिएर रातको सन्नाटामा सम्झदैछु म
नसोचेका दिनहरू, पलहरु
अनि थोपरेका एकोहोरो क्षणहरु
स्वार्थमा सजिलै रुमलिएका परिवेश हरु
दु:खीरहेछन कसैको खुशीको लागि
आफ्नो हृदयमा लागेका घाउहरु।
फेरि मनको कलम बन्द गर्छु
तुलना गर्छु यथार्थ र कल्पनाको
सपना देखाउने र मलम लगाउनेको।
संझनामा तरंगित हुन्छु
समाजका अगुवा भनाउदाको
चर्तीकला
एक्लो हो एक्लो छ भनेर गरिने व्यबहार
बोलिने शब्द
हेरिने दृष्टिकोण
मान्छेका स्वार्थी र नालायकीपनहरु।
कसैका वास्तबिक त्याग र समर्पणहरु
बिना मोलमोलाइ चुक्ता गरिने
मायाका पहाडहरु।
फेरि फर्कन्छु कोल्टे
एउटा दृश्यले सताउछ
पुरुष र पुरुषका झुन्ड र झुठ
सलबलाउन थाल्छन
प्रश्न उब्जिएको छ मनको गहिराइमा
सुनेका देखेका भोगेका बिषयमा
घरमा श्रीमती छ
छोराछोरी पनि
पुरुषको भेषमा कोही
म अविवाहित छु भन्छ
नभए पनि एक्लै छु भन्छ
पासोमा पार्न मायाको बल्छि फाल्छ
सपनाको सागर ढालेर
हातमै राखिदिन्छु भन्छ
पासो थापेर स्वार्थ पुरा गर्छ
अनि फरक हुन्छ ब्यबहार
सुरु हुन्छ कसम कहानी र तर्कने बानी
फेरि सोचें सबै यस्ता हुन्नन
न पुरुष न महिला ।
मध्यान्तर भैसकेको थियो
म मनका उकालि ओरालि गरेर
आफैले आफैंलाई सोधिरहेको थिएँ
किन? के का लागि?
मैले मलाई बेचेँ कुनै दाम नलिएर
मात्र कसैको खुशीको लागि
आफ्नो मुटुमा घाउ लगाएर
कसैको विस्वासमा आगो लगाएर !
म उठें अठोट लिएर
अब म सत्य हुँ सत्य बन्छु भनेर
त्यै भएर ,
आजभोलि चिन्दैछु मान्छेहरुलाई
मान्छेभित्रका स्वभावहरुलाई
सोझोपनको फाइदा उठाउन जान्ने
ध्रुत स्यालहरुलाई
चटक देखाउन सिपालु चाटुकारहरुलाई
तैपनि ,विबस भएर छटपटाइरहेछु
निन्द्रा बिर्सिएर
मस्त निदाएर फेरि लुट्ने सपना देख्ने
स्वार्थीलाई सम्झेर