मकवानपुर । हेटौंडामा रक्तसञ्चार सम्बन्धी रक्ततत्व सेवा सुरु भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा रक्ततत्व निर्माण सेवा सुरु भएको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरद्वारा निर्माण गरिएको रक्ततत्व निर्माण तथा वितरण केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिए संगै सेवा सुरु भएको केन्द्रले जनाएको छ ।
२०५२ सालमा स्थापना भएको रक्तसञ्चार केन्द्रले होल ब्लडको मात्र कार्य गर्दै आएको थियो । रक्ततत्व निर्माण तथा वितरण सम्बन्धी सेवाको सुरुवात भएसंगै हेटौंडामै प्लाज्मा, प्लेटलेट र प्याकसेल छुट्टाछुट्टै निर्माण गरी वितरण गर्न सकिने रक्तसञ्चार केन्द्र हेटौंडा इन्चार्ज टंक दाहालले जानकारी दिए ।
सेवा संचालनका लागि अमेरिकन रेडक्रसले रक्ततत्व वर्गिकरणको आवश्यक उपकरणहरु सहयोग गरेको थियो । यस्तै हेटौंडा उपमहानगरपालिकाले प्लाज्मा तथा प्लेटलेटलाई सुरक्षित राख्न आवश्यक फ्रिज सहितको उपकरण सहयोग गरेको दाहालले बताए ।
त्यसैगरी मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि आवश्यक सहयोग गरेको उनले बताए । रक्ततत्व निर्माण सेवाको बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले सेवाको उद्घाटन गरेका हुन ।