मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएकाे छ । असार ११ गते विहीबारबाट लागू हुने गरी बागमती प्रदेशले नयाँ भाडादर समेत निर्धारण गरेकाे छ ।
प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाइएकाे । सरकारले उपत्यका बाहेकका प्रदेशका जिल्ला भित्र संचालनमा आउन सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा घटाएकाे छ । यात्रुले यो भाडादरमा १५ किलोग्रामसम्मको सामान निःशुल्क र सोभन्दा बढीको प्रति १० किलोग्रामको ५ रुपैयाँ दरले भाडा तिर्नुपर्ने गरी भाडादर तोकिएको छ ।
नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा १ रुपैयाँले घटेको छ । यसअघि ५ किलोमिटरसम्मको १९ रुपैयाँ रहेकाेमा अहिले १८ रुपैया कायम गरिएकाे छ । यस्तै १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँबाट घटाएर २४ रुपैयाँ कायम गरिएकाे छ । १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ । २० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।

