मकवानपुर । मनोरञ्जन क्षेत्रमा कामगर्ने श्रमिकहरूको अवस्था सुधार गर्न सबै स्थानीय तहहरुसँग नियमित र निरन्तर अनुगमन तथा समन्वय आवश्यक रहेको बताइएको छ ।
हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा भएको बहसमा यस्तो बताइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलानले सबैको सहकार्यबिना मनोरञ्जन क्षेत्रमा कामगर्नेहरूको अवस्थामा सुधार ल्याउन संभवन नभएको बताए ।
विश्वास नेपालको आयोजनामा भएको मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहित र मर्यादित श्रम सम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निर्देशिका २०७० कार्यान्वयन सम्बन्धि जिल्ला स्तरिय कार्यशाला गोष्ठीमा यस्तो बताइएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने यो क्षेत्रका श्रमिकहरुको सुरक्षा र अधिकारको सवालमा धेरै तयारी बाँकी रहेको बताइन् ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था अत्यन्तै नाजुक रहेको बताइन् । उनीलाई शोषण दमनबाट मुक्त गराउनको लागी सचेतना आवश्यक रहेको पुलामीले बताइन् । कला प्रदर्शन गर्न पाउनु पर्ने तर, श्रम शोषण गर्न नपाइने उनले बताइन् ।
कार्यक्रममा विश्वास नेपालको अध्यक्ष तारा भण्डारीले प्रस्तुत गरेकी थिइन् । श्रमिकहरुको अवस्था सुधारको लागि सरोकारवालहरुसँगै आफूहरुले नियमित सहकार्य गर्ने भण्डारीले बताइन् ।
श्रम वा रोजगार कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठ श्रम ऐन र यसमा तोकिएको पारिश्रमिक बारे जानकारी गराएका थिए । यसैगरी जिल्ला प्रहरी कर्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चुडा खड्काले अधिकारको सवालमा सँगसँगै जिम्मेवारीको सवाल पनि उठाउनु जरुरी भएको बताइन् ।
मनोरन्जन क्षेत्रको लागि बनेको २०७७ को अनुगमन निर्देशिका सम्बन्धि जानकारी गराउने, अनुगमन समिति गठनका लागि कार्ययोजना तयार बनाउन पहल गर्ने, मनोरञ्जन तथा सत्कार सेवा व्यवसायमा नियमित अनुगमन गर्न पहल गर्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष भण्डारीले बताइन् ।
विश्वास नेपालले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिकहरूको हक अधिकार सुनिस्चित गर्ने पेशालाई मर्यादित र सम्मानित बनाउन पहल गर्ने, साथै श्रमिक महिलाहरूको आर्थिक तथा सामाजिक स्तर वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमहरु गर्दै आएको छ ।