मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी अधिवेशन आगमी असोजमा हुने भएकाे छ । अधिवेश असाेज ८ र ९ गते हुने मिति तय भए पनि स्थान भने तय भएकाे छैन।
हालकाे बागमती प्रदेश कमिटीका सदस्यलाई जिल्ला र पालिका स्तरमा जिम्मेवारी दिने तथा प्रदेश कमिटीकाे आकार समेत घटाएर सानो आकारको कमिटी बनाउने तयारी गरिएकाे बुझिएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार गण्डकी प्रदेशको मिति तोक्न बाँकी छ । बाँकी प्रदेशले अधिवेशनको मिति तय गरिसकेका छन् ।
यसैगरी कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते हुनेछ भने मधेश प्रदेशले असोज ५ र ६ गते अधिवेशन गर्ने भएकाे छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । भदौ १६ र १७ गते लुम्बिनी, भदौ २२ र २३ गते सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।
प्रदेश अधिवेशनमा १ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि हुने व्यवस्था रहेकाे छ । प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटाबाट प्रतिनिधिमा ल्याउने तयारी गरिएकाे एमालेले जनाएकाे छ ।
प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ । ‘पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यही आधारमा अधिवेशनको प्रतिनिधि चयन र प्रतिनिधि छनोट हुनेछ’, कार्यालय सचिव अधिकारी भने ।
एमालेले आगामी एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारी एमालले थालेकाे हाे । प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।