सरस्वती पौडेल
सधैं तिम्रो शरीरमा उस्तै जवानी हुँदैन
सोचेको जस्तो आफ्नै जिन्दगानी हुँदैन ।
करोडौं लास जलाएर, पबित्र हुन्छ आगो,
चिताको ज्वाला निभाउने नदिमा पानी हुँदैन ।
श्रीमान् दिल जलेको प्रमाण कसरी पेश गरौं,
छामेर हेर्नुहोस् नभिजेको कुनै सिरानी हुँदैन ।
भित्ताको पेन्डुलम जस्तै भएको छ यो जिन्दगी ,
यता,उता सर्दैमा गन्तव्य पुग्ने निशानी हुँदैन ।
पेटमा आगो लिएर जिउँदै जलेका छ्न मुर्दाहरु,
शहर त ढुङ्गा जस्तै कठोर हुन्छ, फूलदानी हुँदैन ।
भरतपुर, चितवन