मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले ५ जना व्यक्तित्वलाई सम्मान गरेकाे छ । समाजले शुक्रबार ४ पुरस्कारबाट ५ जना व्यक्तित्वलाई सम्मान गरेकाे हाे ।
समाजले श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कारबाट मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई सम्मान गरेकाे छ । उक्त पुरस्कारकाे राशी १५ हजार रुपैया रहेकाे छ । यस्तै ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित भएका छन् । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार रुपैया राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिएकाे समाज अध्यक्ष माधव पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मानबाट २ जना सम्मानित भएका छन् । उक्त सम्मानबाट हेटौंडाका शिक्षाविद् रामचन्द्र आचार्य ‘फुर्सती’ र महिलातर्फ अमर माध्यमिक विद्यालयका प्रअ मालती उप्रेती सम्मानित भएका छन् ।
समाजले असार ६ गते शनिवार २ जना व्यक्तित्वलाई हेटौंडामै सम्मान गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए । शनिबार समाजले महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गर्ने भएको छ ।
महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै उक्त पुरस्कारकाे २१ औं सस्करण भट्टराईलाई प्रदान गरिने भएकाे हाे । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै शनिबार नै केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ । श्रेष्ठ मकवानपुर क्याम्पसका पत्रकारिता विषयका प्राध्यापक समेत हुन् ।