मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले एकै थलोमा ७ जना व्यक्तित्वलाई पुरस्कार सहित सम्मानित गर्ने भएको छ । असार ५ गते शुक्रबार (आज) ५ जना र ६ गते शनिवार २ जना व्यक्तित्वलाई हेटौंडामा पुरस्कार समर्पण कार्यक्रम गर्दै सम्मान गर्न लागिएको मातृभूमिले जनाएको छ ।
महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । यो पुरस्कार र सम्मान असार ६ गते प्रदान गरिने बताइएको छ ।
महालक्ष्मी साहित्य पुरस्कारको २१ औं सस्करण रहेको समाजका अध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिए । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ । पत्रकार श्रेष्ठ शनिबार सम्मानित हुनेछन ।
यसैगरी समाजले आज शुक्रबार ४ पुरस्कार बाट ५ जना व्यक्तित्वलाई सम्मान गर्दैछ । समाजले १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई प्रदान गर्ने भएको छ । यस्तै ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित हुने भएका छन । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिने समाज अध्यक्ष पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ ।