मकवानपुर । मकवानपुर प्रहरीले १ क्विन्टल लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कर्राबाट लागूऔषध गाँजा १ सय किलो ६ ग्रामसहित गोरखा पालुङटार ३ का ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दर्जीलाई अस्थायी प्रहरी पोष्ट थानाभञ्ज्याङ मकवानपुरबाट प्रहरी सहायक निरीक्षक केदार विकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नं. को बोलेरो पिकअप गाडीलाई जाँच गर्दा गाडीको पछाडीको भागमा खाली क्रेटहरुको मुनी बोराभित्र राखेको उक्त परिमाणको गाँजा बरामद गरि दर्जीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीमाथि अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।