मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ ।
गाउँपालिकाले ३ नम्बर वडाका ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरेको हो । लालपुर्जा प्राप्त गर्नेहरुमा वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् ।
उनीहरुलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले लालपुर्जा वितरण गरेका थिए । विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती वडाअध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए ।
बागमती गाउँपालिकाले पुर्जा वितरण गरेको यो तेस्रो पटक हो । यस अघि वडा नं ४ का भुमिहिन दलित ३ जना, भुमिहिन सुकुम्वासी २८ जना र वडा नं ५ का भुमिहिन सुकुमवासी २ जना गरि ३३ जनालाई लालपुर्जा वितरण गरिसकेको छ ।
प्रविधिक समस्या नआएमा गाउँपालिकाको जग्गा डेढ वर्ष भित्र नाप जाँच सकाएर अव्यबस्थित बसोबास गर्नेलाई पुर्जा वितरण गरिने तयारी गरेको जनाएको छ ।
गाउँपालिकाको वडा नं ३, ४ र ५ नापी कार्य सकिएको, वडा नं १,२ र ६ मा नापी कार्य अन्तिम चरणमा रहेको जनाएको छ । यसैगरी वडा नं ७ मा आधा जति नापी भएको र बाँकी वडा नं ८ र ९ मा पनि छिट्टै नापी कार्य अघि बढाउने छ ।
बागमती गाउँपालिकाले २०७६ सालदेखि जग्गा नापी कार्यको सुरुवात गरेको थियो । अहिले राष्ट्रिय भूमि आयोग गठन भइ कार्यविधि समेत निर्माण भएकोले सोही अनुसार नापी कार्य भैरहेको बताइएको छ । गाउँपालिकाले १० औं गाउँसभामा उनीहरुलाई पूर्जा वितरण गरेको हो ।

गाउँसभामा जग्गा दाता २३ जना सम्मानित
यसैबीच गाउँसभामा जग्गा दाता २३ जना सम्मानित भएका छन् । गाउँपालिकाको १०औ गाउँसभामा सरकारी कार्यालय स्थापना गर्न जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । जग्गादाताहरु तुलासा थोकर, डुब्वाङ पाख्रिन, मानकाजी जिम्बा, आइतेसिं पाख्रिन, बिजय जिम्बा, कार्शाङ पाख्रिन, सुवास घिसिङ, तिलकबहादुर माझीलगायत २३ जनालाई गाउँपालिका अध्यक्ष घलानले सम्मान गरेका हुन ।
उनीहरुले गाउँपालिकाका सरकारी संरचना निर्माणका लागि ३ कठ्ठासम्म जग्गा दान गरेका थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।