मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक विद्यालयका १८ जना र माध्यमिक विद्यालयका १ जना गरी १९ प्राध्यानाध्यापकहरुले सामुहिक राजीनामा दिएका छन् ।
गाउँपालिका अध्यक्षको व्यवहार चित्तबुझ्दो नभएको भन्दै उनीहरुले आज सामुहिक राजिनामा दिएका हुन् । शिक्षाको गुणस्तरमा सुधार ल्याउने वाहानामा आफूहरुलाई गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले लामो समयदेखि मानसिक तनाव हुने गरी व्यवहार गरेको उनीहरुले बताएका छन् ।
विद्यालयको गुणस्तर सुधार गर्न प्रअहरु सरुवा गर्छु भन्दै हिडेपछि प्रअहरुले सरुवा नगरीकनै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने योजना अघि सार्न सुझाव दिएका थिए । प्रअ सरुवा गरेर मात्रै शिक्षामा गुणस्तर ल्याउने धारणा सही नलागेको भन्दै उनीहरुले सामुहिक राजिनामा दिएका हुन् । “कि त प्रअको जिम्मेवारीमा हेरेफेर गर्नुपर्यो, कि त प्रअ लाई अन्यत्र सरुवा गर्दा शिक्षकको हैसियतामा सरुवा गरिनु पर्यो, पुरानो स्कुलमा जति सुधार गर्न सकिन्छ, नयाँमा गएर बातावरण बुझ्नै समय लाग्छ, बरु विकल्पमा त्यहीको शिक्षकलाई प्रअको जिम्मेवारी दिन सकिन्छ” पशुपति मावि मनहरी ४ मसिनेका प्रअ भानुभक्त आचार्यले भने “प्रअलाई प्रअकै हैसियतामा सरुवा गरेर शैक्षिक गुणस्तर सुधार्न सकिदैन, भोली फेरी प्रअकै काँधमा दोष थोपरिन्छ ।”
पहिलो लटमा १९ जनाले राजिनामा दिएको भएपनि गाउँपालिका भरका ३२ वटै विद्यालयका प्रअहरु गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको विचारमा सहमत नभएको उनले बताए । “संभवत उहाँहरुको पनि राजिनामा आउने छ” आचार्यले भने ।
गाउँपालिका अध्यक्षले यस विषयमा छलफलका लागि गाउँपालिकामा बैठकका लागि बोलाउनु भएको र पछी आफुलाई पालिका कार्यालयबाट बाहिर निस्की जस्ता अभिब्यक्ति गाउँपालिका अध्यक्षले दिएको नेपाल शिक्षक महासंघ मनहरीका अध्यक्ष नबराज डोटेलले बताए ।
उनले आफ्नो बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीबाट राजिनामा दिइसकेको र सरुवा हुनका लागि पनि गाउँपालिकाबाट प्रक्रियामा रहेको बताए ।
गाउँपालिकाले बिना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको तर, योग्य, सक्षम र क्षमतावान शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्गप्रशस्त गर्नका लागि राजीनामा दिइएको प्रधानध्यापकहरुले बताएका छन् ।
प्राथमिक तहका प्रधानध्यापकहरुको आपसी सहमतमिा सरुवा गर्ने गाउँपालिका शिक्षा समितिले निर्णय गरेको र त्यही अनुसार कार्यान्वयनका क्रममा सरुवा गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताए ।
गाउँपालिकामा कसैले पनि संयुक्त रुपमा राजिनामा नबुझाएको र आफुलाई पायक पर्ने बिद्यालयमा जान दुइ वटा बिद्यालयको सहमतीमा प्रधानाध्यापकहरुको सरुवा गर्न लागिएको उनले बताए । गाउँपालिकाको यो निर्णयमा सबै प्रधानध्यापकहरु राजी रहेको र कार्यान्वयन गर्नका लागि प्रधानध्यापकहरुले आफुले जान चाहेको बिद्यालयमा फाइल समेत पेस गर्न थालेको अध्यक्ष कालाखेतीको दाबि छ ।
बिद्यालयको शिक्षामा गुणस्तर सुधार गर्नका लागि यो काम गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीले यस अघि पनि बिद्यालय सुधार गर्ने भन्दै बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुलाई अनावश्यक रुपमा कानून विपरितका कुरा गरेर टर्चर दिएको र अहिले पनि प्रधानध्यापकहरुको सरुवा गरेर बिद्यालय सुधार गर्ने भनेपछी संयुक्त राजिनामा दिइएको उनीहरुको भनाइ छ ।
‘प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको उल्लेख छ । तर सामूहिक राजीनामा गाउँपालिका अध्यक्षलाई बुझाउन जाँदा गाउँपालिकाले नलिएको र अपमानपूर्वक फर्काइएको महासंघ मनहरीका अध्यक्ष डोटेलले बताउनुभयो । संघीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरुमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको बताइएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा १८ प्रावि, ९ मावि ५ निमावि छन् ।

