मकवानपुर । मनसुनी वायुको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ । जसकाे प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेहाे जल तथा माैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको साथै कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको महाशाखाले जानकारी दिएकाे छ । आज असार २९ गते दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरी सम्भावना रहेको छ । शुक्रबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाे थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएकाे छ । हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेकाे छ।