मकवानपुर । हेटौैंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे सिद्धार्थ माध्यमिक विद्यालयबाट एसईई उत्कृष्ट विद्यार्थीहरूलाई वडा कार्यालय र विद्यालयद्वारा सम्मान गरिएकाे छ । २०७९ सालको एसईई परीक्षामा ए प्लस ल्याएका तथा उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालय र २ नम्बर वडा कार्यालयले पुरस्कृत र सम्मान गरेको हाे ।
मंगलबार विद्यालय र वडा कार्यालयले संयुक्त रुपमा विद्यार्थीलाई पुरस्कृत गरेको हो । वडा कार्यालयले जिपीए ए प्लस ल्याउने विद्यार्थीलाई नगद १० हजार र विद्यालयले ५ हजार र ए ल्याउनेलाई प्रशंसापत्रले सम्मान गरेको हो । परीक्षामा सहभागी १ सय ८५ जना विद्यार्थीमध्ये ए प्लस ल्याउने ९ जना, ए ल्याउने २२ जना, बी प्लस ल्याउने ३२ जना, बी ल्याउने ४८ जना, सी ल्याउने ४६ जना र सी प्लस ल्याउने २८ जना रहेको विद्यालयले जनाएको छ ।
सम्मान कार्यक्रममा शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जिल्लाकै उत्कृष्ट मानिएको विद्यालयको नतिजाले सबैलाई खुसी तुल्याएको बताए । उनले शिक्षक र विद्यार्थीको सहकार्यले नतिजा संम्भव रहेको बताए । त्यसैगरी वडाध्यक्ष मर्हजनले २०८० को एसईई नतिजामा ए प्लस हासिल गर्नेलाई नगद १५ हजारले सम्मान गर्ने उद्घोष गरका थिए ।

विद्यालयले सम्मान कार्यक्रमसँगै एसईई उतिर्ण विद्यार्थी तथा अभिभावकलाई परामर्श समेत गरेकाे थियाे । वन बिज्ञान अध्ययन संस्थान हेटौंडाका प्रोफेसर कृष्णप्रसाद दाहाल र सिद्धार्थ माविमा कानुन बिषय अध्यापनरत अधिवक्ता मनप्रसाद भट्टराईले बिषयगत जानकारी सहित परामर्श गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख गौतमको प्रमुख आतिथ्यता र वडा नम्बर २ का वडाध्यक्ष मर्हजनको विशेष आतिथ्यता रहेको थियो । विद्यालयका प्रअ मोहनप्रसाद शर्मा, हेटौंडा २ नम्बर वडा सदस्य सुरज बतौँला, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामचन्द्र बतौँला, ज्ञानु महरा, सरिता दाहाल, लक्ष्मी श्रेष्ठ, पीटीए अध्यक्ष भीमकुमार श्रेष्ठलगायतको आतिथ्यता थियो । कार्यक्रममा बिद्यालयबाट सर्वोत्कृष्ट भएका छात्र भूषण दाहालले सिद्धार्थ माविको शैक्षिक वातावरण उत्कृष्ट भएको बताएका थिए ।