जुनु घिमिरे
हिजो मेरी आमासँग
सपनाहरू थिएनन्
तर
जीवन थियो
आज मसँग सपनाहरू छन्
तर
भने जस्तो जीवन छैन ।
यस्तो लाग्थ्यो
आमालाई हेर्दा
सपना बेगरका जीवन के जीवन ?
जहाँ पुग्नुको उद्देश्य हुँदैन
उद्देश्य प्राप्ति गर्दाको
खुसी के हो थाहा छैन
फगत आमाको जिन्दगी
चलिरहयो चलिरहयो ।
आज मसँग
धेरै सपनाहरू छन्
उँचाइको भोक लागेको छ
प्राप्तिको प्यासले सताएको छ
त्यसैले जीवनका भोकहरू
अव्यवस्थित छन्
जिन्दगीका तिर्खाहरू
पानी पानी भन्दैछन्
तर मसँग
न पिउने फुर्सद छ
न खाने फुर्सद ।
मात्र मलाई पछ्याउँदै आउँने
जीवनका उद्देश्यहरू छन्
जिन्दगीका सपनाहरू छन्
तिनै सपनाहरूले
मलाई कुदाइ रहन्छन्
म कुदिरहन्छु
थाहा छैन
मेरो जीत कहाँ पुगेर हुन्छ ?
पुग्ने कुनै स्थान तोकिएको छैन
तर म कुदिरहन्छु
जिन्दगीको म्याराथनमा
सफलताको आश बोकेर ।
जब मेरा आँखाले
सपनाहरू खेलाउन थाले
त्यसबेला मेरी आमा
मलाई बिचरा लाग्थ्यो
मेरो हातहरुले योग्यताका
प्रमाणपत्रहरू बटुलेका थिए
आमाको त
प्रमाणपत्र भनुँ वा तक्मा
तिनै खस्रा हातहरू थिए
खडेरीले धाजा पारेका
खेतहरू जस्तै पैताला थिए
अनि
उसिनेर फुटेको
आलु जस्तै आमाका कुर्कुचाहरू ।
दुःख,अभाव,थिचोमिचो आँसु
धेरै थरिका निशानी
देख्थेँ म आमाको जीवनमा
अनि मलाई लाग्थ्यो
के यो पनि जीवन हो ?
म आमाभन्दा
धेरै अगाडिको पुग्न चाहन्थें
र
आज
सपनाहरू भरी कसेर
दौडिरहेछु
तर बिडम्बना
मेरी छोरी मलाई भनिरहन्छिन्
अरे मामु,
यो पनि जिन्दगी हो ?
धनकुटा हाल दुवाकोट भक्तपुर
घिमिरेकाे भर्खरै प्रकाशित पसिनाको घर कविता संग्रहबाट