मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको छ । हेटौडा ६ चौघडामा रहेकाे सामुदायिक वन समूहले बागमती प्रदेशबाट उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको हाे ।
बागमती प्रदेशभित्रका सामुदायिक वन समूहमध्ये उत्कृष्ट हुँदै समूहले एकलाख पुरस्कार प्राप्त गरेको हाे । बागमती प्रदेश वन निर्देशनालय हेटौडामा भएकाे बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको पुरस्कार प्रदान गर्ने निर्णय गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
वन समूहले वनको विकास, समूहको स्वीकृत विधान तथा कार्ययोजना बमोजिमका कामहरु सम्पन्न गरेको, संस्थागत विकास लगायतका काम पारदर्शी ढंगले सम्पन्न गरेकाे सूचकहरुकाे आधारमा पुरस्कार प्रदान गरेको वन निर्देशनालयले जनाएको छ । यसैगरी समयमै साधारणसभा, लेखापरीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन, आयआर्जन, पर्यापर्यटन, प्रचारप्रसार, आर्थिक प्रतिवेदन लगायतका कामहरु समेत समूहले व्यवस्थित राख्ने गरेको लगायतका आधार समेत लिइएकाे निर्देशनालयले जनाएको छ ।
यसअघि समूहले सर्वमान्य गणेशमान सिह वन संरक्षण पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्लास्तरीय पुरस्कारहरु प्राप्त गरिसकेको अध्यक्ष न्यौपानेले बताए ।