- कृष्णदेव भण्डारी
केही दिन पछि २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित हुदैछ । एसईई परीक्षामा केही विद्यार्थीहरूले उत्कृष्ट अङ्क प्राप्त गरी लेटर ग्रेडिङ्गमा A वा A+ हासिल गर्दछन भने, धेरै परीक्षार्थीहरू अपेक्षाकृत कम अङ्क प्राप्त गरी पछिल्लो ग्रेडिङमा उत्तीर्ण हुन्छन् । उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरू अति उत्साहित हुनु जरुरी छैन र अपेक्षाकृत कम अङ्क प्राप्त गर्ने विद्यार्थीहरू हतोत्साही पनि हुनुहुँदैन । हरेक वर्ष कति विद्यार्थीहरू परीक्षाफलको डरले परीक्षाफल प्रकाशित हुनुपूर्व र कतिले परीक्षाफल प्रकाशित भएपश्चात आत्महत्या गर्ने गर्दछन्। यो लेखकाे आशय यसवर्ष त्यस्ता अप्रिय, दुःखदायी घटनाहरू नहोउन भन्ने रहेकाे छ ।
पहिलो कुरा त, एसईई परीक्षा जीवनको अन्तिम परीक्षा होइन, यो त परीक्षाहरूको आरम्भ हो। शुरुआतमै हार स्वीकार्नु कायरता हो। हामीले जीवनमा साहसी र आत्मविश्वासी हुनुपर्छ । के फुटबलको कुनै टिम पहिलो हाफमा ३–० ले पछाडि पर्यो भने त्यो टिम दोस्रो हाफमा भाग नलिई बाइ दिन्छ र? त्यसो भएको छैन र हुँदैन पनि। अन्तमा, त्यो टिम ४–३ ले विजयी हुन सक्छ । खेलमा यस्ता धेरै दृष्टानतहरू छन। सास रहेसम्म आस रहन्छ भनेझै हामीले निरन्तर प्रयास गरिरहनुपर्छ। आत्मविश्वास, साहस, कामप्रति लगाव भएमा हामी सबै सफल हुन सक्छौ। त्यसैले पूरा म्याच खेलौ, बिचमा आत्मसमर्पण गरेर कायरता प्रदर्शन नगरौं ।
अर्को कुरा, शैक्षिक संस्थाहरूबाट शैक्षिक योग्यताको प्रमाणपत्र हासिल गर्नको लागि संचालन गरिने परीक्षा नै सबथोक होइन । यो जीवनको एउटा पाटो मात्र हो। विद्यालय वा विश्वविद्यालयहरूबाट प्राप्त प्रमाणपत्रले स्वाभाविकरूपमा अन्य अवसरका ढोकाहरू खोल्दछन्। तथापि शैक्षिक संस्थाहरूले लिने परीक्षामा कम उपलब्धी हासिल हुनु भनेको जीवन सकिनु होइनस जीवनले नयाँ मोड लिनु हो, जसले मानिसलाई सफलताको नयाँ उचाइमा पुर्याउन सक्छ । त्यसैले सदा आशावादी बनौं, जीवनरूपी रथलाई कुशलतापूर्वक अगाडि बढाऔ।
दिनेशराज पन्त भाषा तथा संस्कृतिविद, इतिहासविद, पूर्णिमा पत्रिकाका सम्पदक तथा ७ सय भन्दा बढी सोधपत्रका लेखक हुन् । उनले तीनवटा विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका छन् । अध्ययन मोहका कारणले औपचारिक शिक्षाविना नै उनले देश र समाजको लागि विशिष्ट योगदान गर्न सफल भएका छन्।
विद्यार्थीहरूले कक्षाका अन्य साथीहरूसङ्ग तुलना गरेर दु:ख मान्ने र डिप्रेसनमा जानेसम्म हुनसक्छ । संसारका सबै व्यक्तिहरु अद्वितीय (unique) हुन्छन् । हरेक व्यक्तिमा फरकफरक क्षमता हुन्छ । व्यक्तिले आफ्नो अन्तरनीहित क्षमताको पहिचान गरी त्यसको विकासमा केन्द्रित हुनुपर्छ । अर्कोसङ्ग तुलना गर्ने र प्रतिस्पर्धा गर्ने मनोविज्ञानबाट बाहिर आएर आफ्नै बिगतसङ्ग तुलना गरेर आजको आफूसँग प्रतिस्पर्धा गरी भोलि अझ राम्रो गर्ने अठोट लिएर अघि बढेमा समाजलाई विशिष्ट योगदान गर्दै आफ्नो रुचिको विषयमा उत्कृष्ट हुन सकिन्छ।
विद्यालय शिक्षा पुरा नगरेका घनश्याम दास बिर्ला सफल व्यापारी हुन। उनले व्यापार र शिक्षामा योगदान गरेकाले उनी भारतकै दोस्रो उच्च नागरिक सम्मान पद्म विभुषणबाट सम्मानित भएका थिए । त्यसैगरी विश्वका अग्रणी सफल व्यक्तित्वहरू गौतम अडानी, मार्क जुकरबर्ग, स्टिभ जब्स र बिल गेट्सहरूले विश्वविद्यालयको प्रमाणपत्रविना नै आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेर विश्वप्रसिद्ध भएको यथार्थ हाम्रो सामु छ।
औपचारिक शिक्षा ग्रहण नगरेका दिनेशराज पन्त भाषा तथा संस्कृतिविद, इतिहासविद, पूर्णिमा पत्रिकाका सम्पदक तथा ७ सय भन्दा बढी सोधपत्रका लेखक हुन् । उनले तीनवटा विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका छन् । अध्ययन मोहका कारणले औपचारिक शिक्षाविना नै उनले देश र समाजको लागि विशिष्ट योगदान गर्न सफल भएका छन्।
तसर्थ एसईई परीक्षाफलमा जस्तो नतिजा प्राप्त भएपनि पुस्तक अध्ययन गर्ने बानीको विकास गरी आफ्नो रुचिको विषयसँग सम्बन्धित धेरैभन्दा धेरै पुस्तकहरू अध्ययन गर्नुहोस । जुन तपाईंको ज्ञानको दायरा फराकिलो बनाएर अपेक्षित सफलता हासिल गर्न सहयोगी सिद्ध हुन्छ। आत्मविश्वास, साहस, दृढईच्छाशक्ति, अध्ययनशीलता र निरन्तरतालाई मूलमन्त्र बनाएर जीवनमा सफल हुन सक्नुहोस्, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना ।
मकवानपुर हेटौंडा १७ का भण्डारी शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति हुन् ।