मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई बाल मैत्री घोषणाको लागि तयारी तिव्र पारिएको छ । नगरभित्र बालश्रम निवारणको लागी स्थानीय तहको भुमिका बारे जनप्रतिनिधिहरु र सरोकारवालहरु बीच अन्तरक्रिया गरिएको छ ।
हेटौडा उपमहानगर पालिकालाई बालश्रम मुक्त बनाउने उद्धेश्यले बालमैत्री स्थानीय शासन नगर समितीसंग बालश्रम निवारणको लागी पहल जारी राखिएको हो ।
हेटौडा उपमहानगरपालिका र बाल कल्याण समाज, मकवानपुरको संयुक्त आयोजना, स्वतन्त्रता अभियान र राष्ट्रिय बाल संरक्षण संजाल नेपालको समन्वय तथा ग्लोबल मार्चको सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँले हेटौडा उपमहानगरपालिकाले बालश्रम मुक्त सहित बालमैत्री नगर घोषणा गर्ने अभियानमा साथ दिने संघसस्थाहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिब अम्बिकाप्रसाद अधिकारीले,बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ को बारेमा प्रस्तुती गरेका थिए ।
यसैगरी बाल मैत्री स्थानीय शासन घोषणाका लागी भएका कृयाकलापको बारेमा बाल कल्याण समाजको अध्यक्ष एबं राष्ट्रिय बाल संरक्षण संजाल अध्यक्ष प्रकाश खतिवडाले प्रस्तुती दिएका थिए ।
यसैगरी बालमैत्री स्थानीय शासनको लागि भएका प्रयासहरुको बारेमा हेटौडा उपमहानगर पालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामीछानेले प्रस्तुतिकरण गरेकी थिइन् ।
बाल मैत्री स्थानीय शासन नगर समितिले सबै ५१ वटा सुचक केलाएर ठोस कार्य गर्ने बेला आएको बानियाँले बताए । बालश्रम अन्त्यको लागि तयार भएको कार्य योजना अनुरुपको कार्य सबैको समन्वय र सहकार्य नगरपालिकाले गर्ने बानियाँले बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का उपसचिब अधिकारीले नेपालको मौजुदा बालबालिकाको अबस्था र बालश्रमको अबस्थाको चित्रण, दिगो विकासमा बालश्रमको लक्ष्य, बालश्रम मुक्त समाज निर्माणको लागि नेपाल सरकारको विद्यमान नीति, बालश्रम मुक्त स्थानीय तह घोषणाको औचित्य, बालश्रम मुक्त घोषणा कार्यबिधि २०७७ को उद्धेश्य , यसमा भएका लक्षित समुह र सुचकको बारेमा जानकारी गराएका थिए ।
बालश्रम मुक्त सहित बालमैत्री पालिका घोषणा गर्न पालिकाले लगानी योजना बनाउन आवश्यक रहेको बाल कल्याण समाजका अध्यक्ष खतिवडाले बताए । घोषणा पश्चात पनि दीगोपनको लागि लगानी कार्य योजना नभए उपलब्धिपूर्ण नहुने उनले बताए ।