मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती गाउँपालिका पालिकाभित्र कुनै पनि पदका कर्मचारी वा अन्यबाट आर्थिक वा कुनै पनि प्रकारको भ्रष्ट्राचार नसहने बताएका छन् ।
“अघिल्लो कार्यसमितिको बेरुजु फस्यौट गर्दा गर्दा हैसान छौ, मेरो कार्यकालमा कहि कसैबाट गैरकानूनी काम भएको थाहा पाएमा उजुरी दिनुस, म छोड्दीन” उनले भने । पत्रकार महासंघ मकवानपुरले मनहरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष कालाखेतीले आफूहरु सञ्चारकर्मीहरुसँग सहकार्य र समन्वयमा अघि बढ्ने बताए । उनले राज्यको अभिन्न अंगको रुपमा रहेको सञ्चारजगतलाई स्थानीय सरकारले साथमा लिएर पालिकाका कमीकमजोरी देखाउने र सुधार्दै लैजान पालिका अग्रसर रहने बताए ।
अन्तरक्रियाका क्रममा उठेका सञ्चारकर्मीहरुको सवालहरुको जवाफ दिदैं उनले भने भनेः म यहाँ पालिकामा कमाउन आएको होइन, जनताको काम गर्न आएको हुँ । आफ्नो पालिकालाई सुशासनतर्फ लैजान्छु र भष्ट्राचारविहिन बनाउने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।”
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले चालु आवमा असार १० गते सम्म गाउँपालिकाबाट सम्पादन भएका विषयगत शाखाहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
उनले शिक्षा तर्फ विनियोजित बजेट खर्च ८० प्रतिशत भएको भन्दै योजना तर्फ २७४ वटा योजना मध्ये २५५ वटा सम्झौता भइसकेको बताए । पूर्वाधार शाखा तर्फ ठेक्कामा सञ्चालित योजनाहरु कतिपय सम्पन्न भइसकेको बताउँदै श्रेष्ठले भने खानेपानीका कामहरु तीव्रगतिमा भइरहेको बताए ।
वडातहमा हुने स्वास्थ्य ईकाइका भवनहरु निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । १५ शैयाको मनहरी अस्पताल संघीय सर्शत बजेट छ तर जग्गा प्राप्त नभएकाले कार्य रोकिएको बताए । स्वास्थ्य क्षेत्रमा ओपिडी सेवा विस्तार मनहरी अस्पतालमा गरिएको भन्दै श्रेष्ठले भने गर्भवती, विद्यालय छात्रा, जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम, आँखा सम्बन्धी कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रमहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आर्थिक प्रशासनतर्फ गाउँपालिकालाई हालसम्म ८३ प्रतिशत कुल आम्दानी भएको बताए । उनले ८३ करोड ३९ लाख ८६ हजार ३५२ रुपैयाँ आम्दानी भएको बताए । संघीय तर्फ ४३ करोड ६६ लाख २३ हजार ९५६ र प्रदेश तर्फ ९ करोड २८ लाख २१ हजार ९९१ रहनुका साथै आन्तरिक तर्फ ३० करोड ४५ लाख ४० हजार ४०४ रुपैयाँ रहेको बताए । उनले हालसम्म खर्च ५५।९२ प्रतिशत भएको बताएका छन् ।
चालुतर्फ ३१ करोड ९३ लाख ४६ हजार ३६ रुपैयाँ र पुजीँगत तर्फ २४ करोड ३४ लाख ६ट हजार ५१३ रुपैयाँ रहेको श्रेष्ठले बताए । उनले सामाजिक विकास शाखा अन्तरगत भएका विभिन्न बालबालिका तथा महिला लक्षित कार्यक्रमहरुको विवरण समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले आफ्नो वडामा भएका विकास, सुशासन र विभिन्न विषयगत प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला उपाध्यक्ष ध्रुव अधिकारीले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा महासंघका अध्यक्ष मणिराज गौतमले पत्रकारहरुको हितको लागि सहकार्य गरेकोमा गाउँपालिका प्रति आभार प्रकट गरे ।