मकवानपुर । मानव जीवनकाे अन्त्यपछि परम्परा अनुसार जलाईन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनकाे अन्त्यसँगै जाेडिएका हुन्छन अन्य ८ जनाकाे जीवन बचाउन सकिने सम्भावनाहरु । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य ८ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ, तर यस्तो कुरा हेक्का गरिन्न ।
स्वास्थ्य विज्ञहरुका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंगहरु दान गरेर अरु ८ जनाको जीवन बचाउन सकिन्छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रे नडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रका नेफ्रोलोजिष्ट डा. सुरेश महर्जनका अनुसार नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन दिन सकिन्छ ।
वार्षिक ८ हजार जना मृगौैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको श्रेष्ठको भनाई छ । तर जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको छ । अंगदानबारे नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मृगौैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको डा श्रेष्ठले बताए । सरकारले मृगौैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निशुल्क दिदै आएको छ । बिरामीको जीवन गुणस्तर अतिउच्च राख्न डाइलाइसिस भन्दा प्रत्यारोपणनै उत्तम विकल्प रहेको भए पनि अंग अभावमा यसो हुन नसकिरहेको छैन । प्रत्यारोपणलाई वढावा दिन अंगदान अभियानमा सबैको भूमिका महत्वपूर्ण रहेको श्रेष्ठ बताउँछन् ।
सातैप्रदेशमा प्रत्यारोपण सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार, उपकरण विकासको काममा केन्द्र लागिरहेको उनले बताए । यसैगरी केन्द्रका नेफ्रोलोजिष्ट डा. शुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताए । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग भएको छैन ।
ब्रेन डेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीहरुलाई समेत थाहा नभएको अवस्था हालको रहेको उनले बताए । नेपालमा वर्षेनी ३ हजार जनाको मृगौला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको ८ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण मात्रै भइरहेको छ ।
यसैबीच बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । हेटौडा अस्पतालले शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । प्रत्यारोपण सेवा सुरु गर्न अहिले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरि प्रत्यारोपण सेवा विस्तारको जग बसाउने काम भएको बताए । चालु आर्थिक वर्षको प्रदेश सरकारले हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया अनुदान दिएको थियो ।
सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरि प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसू सापकोटाको भनाइ छ । आगामी वर्ष २०८०।८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन भएको सापकोटाले बताए । विगत ३ वर्षदेखि हेटौडा अस्पतालमा मृगौला डाइलाइसिस सेवा सुरु गरिएको बताउदै उनले अहिले पनि महिनामा करीब ५० जना मृगौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेकाे जानकारी दिए । डाइलाइसिसको बिरामीको तुलनामा अब १५ वटा डाइलाइसिस मेशिन थप गर्नपर्ने आवश्यक रहेको उनले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.विश्वराज जोशीले हेटौडामा प्रत्यारोपण सेवा सुरु मात्र होइन त्यसलाई निरन्तरता दिने गरि काम भइरहेको बताए । प्रत्यारोपण सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको जोशीले बताए । हेटौडा अस्पताल मदन भण्डारी प्रतिष्ठानको स्वामित्वमा रहने गरि सञ्चालन गर्ने निर्णय भइसकेको छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेसू सापकोटाले उक्त जानकारी दिएका हुन् । कार्यक्रममा केन्द्रका नेफ्रोलोजिष्ट डा. शुरेश महर्जन र कार्यकारी निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले अंगदानको विषयमा जनचेतना फैलाउनपर्नेमा जोड दिइन् । खेर जाने अंगको दान गर्न सके अन्य व्यक्तिले पुर्नजीवन पाउने बताउदै आफु अंगदान गर्नुपर्छ भन्ने चेतनामूलक कार्यक्रममा आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाइन् । आफुले सधै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै मेयर लामाले हेटौडालाई स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिवद्धता ब्यक्त गरिन् । यसैगरी निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
अंगदान सम्बन्धमा बिरामी तथा परिवारलाई कन्भिन्स गराउने काममा सबैको भूमिका बराबर रहेको उनले बताए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी दिपक तिवारीले बागमती प्रदेशमा विशिष्ठकृत सेवातर्फ केन्द्रित रहने गरि काम भइरहेको बताए । बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालमा ब्रेनडेथको कार्यक्रम लागू गर्न सकिने बताए । हेटौडा र भक्तपुर अस्पताललाई २ सय बेडको बनाउने तयारी गरि जनशक्ति दरबन्दी स्विकृतिका लागि सरकारलाई पठाएको उनले बताए ।