मकवानपुर । आर्थिक वर्ष २०८०।०८१ को लागि बजेट ल्याउने क्रम जारी छ । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने क्रम चलिरहदा अधिकांश स्थानीय तहहरुले सर्वसाधारणलाई लोभ्याउने र आशा जगाउने योजनाहरु ल्याएर आफ्नो कार्यकाल ‘लोकप्रिय’ बनाउन खोजेको पाइएकाे छ ।
कार्यन्वयन नै गर्न नसकिने र आशामात्रै जगाउने कार्यक्रम देखाउन मात्रै ल्याइएकाे गुनासाे सर्वसाधारणहरुले गरेकाे छन् । मकवानपुरमा स्थानीय तहहरुले आगामी आवको लागि बजेट तथा नीति र कार्यक्रममा कसैले घर उपहार दिने योजना सार्वजनिक गरेका छन् भने कसैले मदिरा र गुट्खा निषेध गर्ने योजना सार्वजनिक गरेको छ ।
मदिरा तथा गुट्खा निषेध गर्ने योजनाहरु हेदा सामान्य लाग्ने तर दीर्घकालसम्म यसको राम्रो पाटोहरु रहेको जनप्रतिनिधिहरुको दाबि छ ।
असार १० सम्म सबै स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने भए पनि मकवानपुरका सबै स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका छैनन । १० वटा स्थानीय तह रहेको मकवानपुरमा ७ वटाले बजेट सार्वजनिक गरेका छन् भने दुइ वटाले नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेका छन् ।
जिल्लाको बागमती गाउपालिकाले निति तथा कार्यक्रम र बजेट केही सार्वजनिक गरेकाे छैन । २ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र ७ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । गत असार २ मा हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोडको बजेट सार्वजनिक गरिसकेको थियो । बागमति गाउँपालिकाले भने १५ गतेभित्र बजेट ल्याउने भएको छ । बजेट निर्माणकाे लागि समय अपुग भएकाे भन्दै बागमतीले आगामी असार १५ गते बजेट ल्याउने भएकाे छ ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिका क्षेत्रमा बसाइँ सरेर आउने परिवारको लागि २ कोठाको घर निर्माण गरिदिने कार्यक्रम सहित ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँबाट सहर क्षेत्रमा बसाइँसराइ दर उच्च भएपछी गाउपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङ्ले बताए ।
मकवानपुरकै कैलाश गाउपालिकाले ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए ।
इन्द्रसरोवर गाउपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोबरले कृषि र पर्यटन क्षेत्रलाइ बजेटमा प्राथमिकता दिएको छ ।
मकवानपुरकै भीमफेदी गाउपालिकाले रैथाने बालिलाइ अनुदान दिने कार्यक्रम सहित ६८ करोड ५४ लाखको बजेट बिनियोजन गरेको छ । गाउपालिकाले भौतिक पुर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउपालिका अध्यक्ष हिदम लामाले बताए ।
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरुलाइ प्राथमिकतामा राखेको छ ।
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरुलाइ प्राथमिकतामा राखेको छ ।
मकवानपुरको थाहा नगरपालिकाले ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि ,पुर्वाधार विकास,शिक्षा ,स्वास्थ्य ,सामाजिक बिकास,सुशासन ,उद्यमशिलता र रोजगारी ,बिपद व्यवस्थापन र क्षमता बिकासलाइ प्राथमिकतामा राखेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छ्न । बकैयाले मदिरा निषेध र मनहरीले गुड्खा निषेधको नीति अघि सारेको छ । चेपाङ बस्ति रहेकाे पालिका मनहरी र राक्सिराङमा चेपाङकाे जीवनस्तर उकास्ने कार्यक्रमहरु पनि प्राथमिकतामा रहेकाे बताइएकाे छ ।
सामाजिक विकासको पाटोलाई स्थानीय तहरुले अब प्राथमिकतामा राख्ने योजना बनाएको जनप्रतिनिधिहरुको दाबी छ । तर सवर्साधारणहरुले बजेटमा आशा मात्रै जगाउने गरेकाे तर कार्यान्वयनबाट युवा र सर्वसाधारणलाई सहयाेग पुग्ने कार्यक्रम नभएकाे गुनासाे गरेका छन् ।
‘केही राम्रा कार्यक्रमहरु छन् तिनिहरुकाे कार्यान्वयन भए राम्राे हुनेछन् तर कार्यन्वयन पाटाे राम्राे हुदैन केही भनाइ र नीतिमा मात्रै सिमित हुने कार्यक्रम छन्’ नकुल घिमिरेले भने ।