मकवानपुर । असार ११ गते साेमबारबाट बागमती प्रदेशकाे राजधानी हेटौडामा प्रदेश युवा सम्ममेलन सुरु हुदैछ । २ दिनसम्म संचालन हुने प्रदेश युवा सम्मेलनकाे तयारी पुरा भएकाे छ । बागमती प्रदेश युवा परिषद् हेटौडाकाे आयाेजनामा असार ११ र १२ गते प्रदेश राजधानी हेटौंडाकाे मोटल एभोकाडोमा आयोजना गरिने प्रथम प्रदेश युवा सम्मेलन,२०८० को सम्पूर्ण तयारी पूरा भएको परिषद्ले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
युवा सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवाको सहभागिता रहने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलनमा समावेशी अवधारणा अनुसार सहभागीले प्रतिनिधित्व गर्ने चाैलागाईले बताए । प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका १५ जनाले सम्मेलनमा सहभागिता जनाउने छन् । ‘सम्मेलनमा सहभागी हुने युवा मध्ये ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएका छन्’ चाैलागाईंले भने ‘हामीले सहभागीको छनोटका क्रममा महिला, जनजाति, अल्पसंख्यक, सिमान्तकृत समूह, विद्यार्थी युवाको सहभागितालाई प्राथमिकतामा राखेर छनोट गरेका छौ ।’
युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले प्रथम पटक योजना गरिएको युवा सम्मेलनमा सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने परिषद्ले जनाएकाे छ ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिमा सहभागी गराइएकाे चाैलागाईंले जानकारी दिए । सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्नेछन् ।
दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साेचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नुहुनेछ । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन ।
सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्ने भएका छन् । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना साःख अन्तरक्रिया गर्ने बताइएकाे छ । डा कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हु भने साःख युवा उद्यमी हुन् ।
यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्ने आयाेजनकले जनाएकाे छ ।