मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको राजमार्ग बिस्तारको सवाल पुनः तात्ने भएको छ । चार दशकदेखि विवादको अवस्थामा रहेको राजमार्ग विस्तारको सवाल फेरि चर्चामा आउने भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले आज सूचना प्रकाशित गरेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि आज पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन गर्ने र काम गर्न नसक्ने कारण यो पाटो विवादमै अल्झिदै आएको छ ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भएपनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
४ दशकदेखि विवादीत र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने विषय । विभिन्न शहरको राजमार्ग चौडा गरिदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्यौलमा नै रहंदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरुले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साघुँरो सडक र घना बस्तिको रहेको हेटौंडा बजार मानवीय बस्तिको रुपमा विकास गरेर बजारको वाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।
पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेको थियो । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले २ वर्ष अघि बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्याक ओपन गरिसकेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरुको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमति सहितको ज्ञापन पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।
विवादमा रहेको कारण आफूहरुले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोवार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा विक्रि वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको पनि कुनै पहल कदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।
सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर गरेर सार्वजनिक गरिसकेको छ । ३ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुबैतर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरुले अदालतमा रिट हालेपछि अदालतले तत्कालको लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।
डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैङ्क तथा वित्तिय संस्थाहरुलाई कार्यलय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरु मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौँडाको मेनरोडमा पर्ने डेढदर्जन बैँक र केही सरकारी कार्यालयहरुलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।
सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरुले दिएका छन् ।