मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना महिलालाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तरगत बुधबार ६ जना महिला चेलीलाई सम्मान गरेको हो ।
पालिकाले कैलाश ६ की संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० का सरुया प्रजा र उर्मिला थिङ र कैलाश २ कि लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद २० हजार र सम्मानपत्र सहित सम्मान गरेका हुन् । ‘विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको हाे’ गाउँपालिका अध्यक्ष मुक्तान भने– ‘चेली सम्मान देशभरका स्थानीय तहहरुमध्ये पृथक कार्यक्रमको सुरुवात गरेका छाैं ।’
पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएकाे यो कार्यक्रमले “गाउँघरमा छोरीलाई वालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएकाे अध्यक्ष मुक्तानले बताए ।
सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष ठकुरीले आगामी वर्षबाट कार्यक्रमलाई अझै बृहत रुपमा विस्तार गरिदै लगिने बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्टले वालविवाह अन्त्यका लागि पालिकाले चेली सम्मान सहित अन्य कार्यक्रम समेत गर्दै आएकाे जानकारी दिए ।
गाउँपालिका सामाजिक बिकास समिति संयोजक राजेन्द्र घिसिङले यो बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । सम्मानित चेलीहरुले गाउँपालिकाले प्रोत्साहन कार्यक्रम मार्फत सम्मान गरेकोमा आफूहरु उत्साहित भएकाे र सामाजिक समस्याको रुपमा रहेको वालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा लाग्न उर्जा मिलेको बताएका छन् ।