मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइएकाे छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउँदै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधसभाकाे अघिल्लाे कार्यकालमा पारित भई राष्ट्रपति कार्यालयमा धन्किएर बसेकाे विधेयकलाई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभामा छलफल नै नगराई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आराेप अनेरास्ववियुकाे छ । हेटौँडाको बुद्धचोकमा अनेरास्ववियुले कोँणासभा गर्दै शान्तिका दूत भगवान बुद्धको प्रतिमा सामुन्ने देशका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको हो ।
भारतले नयाँ संसदमा नेपालको भूभाग समेटेर नक्सा बनाउँदासमेत सरकार चुप लागेको र भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर भारतलाई खुसी पार्ने नाममा राष्ट्रघाती काम गरेकोले पुत्ला जलाइएको अनेरास्ववियु मकवानपुरले जनाएकाे छ । पुत्ला दहन पछि कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु सचिव पुष्कर तिमल्सिनाले तिमल्सिनाले सरकारलाई दलालको संज्ञा दिँदै राष्ट्रघाती काम गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई कुनै बहानामा माफी दिन समेत नमिल्ने बताए ।
राजनीतिक आवरणमा टिकापुर हत्याकाण्ड गराएका रेशम चौधरीको रिहाइले जघन्य अपराधमा सरकारले प्रश्रय दिने काम गरेको उनको आरोप छ । सत्तामा रहेका नेताहरूले मुलुकविरुद्ध निरन्तर षडयन्त्र गरिरहेकोले अनेरास्ववियु चुपलागेर नबस्ने उनले चेतावनी दिए ।
राष्ट्रपति पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गर्नु अघी उनीहरुले राँके जुलुस पनि निकालेका छन् ।