मकवानपुर । बागमती प्रदेश सभाकाे बुधबारकाे बैठकबाट संंकल्प प्रस्ताव प्रदेश सभा नियमावलीको नियम निलम्बन प्रस्ताव पारित भएकाे छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
यसै गरी प्रदेश सभा बैठकमा भारतले नेपालका भू–भाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेश सभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए । बुधबारकाे बैठकमा पेश गरिएकाे नियम निलम्बन तथा संकल्प प्रस्ताव प्रदेश सभाले स्वीकृत गरेकाे ।
भारतले नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका भू–भाग समेटेर नक्सा सार्वजिनक गरेकाेमा सामाजिक संजालमा समेत विराेध भएकाे थियाे । पौडेलले संकल्प प्रस्ताव पेश गर्दै नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेकोले भारतले सार्वजनिक गरेकाे उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए । सभामा पेश गरिएकाे संकल्प प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।
पौडेलले पेश गरेको संकल्प प्रस्ताव प्रदेश सभामा सबै दलले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावलाई दलगत रुपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।
यसैगरी आजकाे बैठकमा गत जेठ गते प्रदेश प्रमुखबाट पेश गरिएकाे आर्थिक वर्ष २०८०।२०८१ काे प्रदेशकाे नीति तथा कार्यक्रममा छलफल भएकाे छ । बैठकमा विभिन्न दलका सांसदहरुले आआफ्नाे धारणा राखेका थिए । नीति तथा कार्यक्रम माथिकाे छलफल नसकिएकाेले सभाका उप सभामुख चापागाईंले विहीबार विहान १०:३० बजे बस्ने वैठकमा छलफल हुने गरी आजकाे बैठक स्थगित भएकाे जानकारी दिइन् ।