मकवानपुर । संघीय सरकारकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको रहेकाे छ । संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले उक्त बजेट प्रस्तुत गरेका हुन । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । चालु आर्थिक वर्षकाे बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँकाे थियाे ।
विनयाेजन बजेट मध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ करोड रूपैयाँ विनियोजन रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोरिने भएकाे छ भने ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ । न्यून बजेट पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ बजेटमा उल्लेख गरिएकाे छ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने भएकाे छ ।
यसैगरी आगामी आर्थिक वर्षमा ६.० प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा छ । त्यसैगरी मुद्रास्फिति ६.५ प्रतिशत रहने सरकारको अनुमान रहेकाे अर्थमन्त्रीले प्रस्तुत गरेका छन् ।
सरकारले गत वर्षको बजेट भाषणमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो २.१६ प्रतिशतमा खुम्चिने भएको छ । विश्व अर्थतन्त्रको शिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने देखिएको अर्थमन्त्रीको भनाइ छ ।