मकवानपुर । बागमती प्रदेश सरकारले पत्रकार तथा विभिन्न विधाका व्यक्ती गरी १२ जनालाई सम्मान गरेकाे छ । प्रदेश सरकारले विकास र समृद्धिमा भूमिका खेलेको भन्दै १६ औँ गणतन्त्र दिवस २०८० का अवसरमा सोमबार गणतन्त्र दिवस कार्यक्रमा ६ जना पत्रकारलाई नगदसहित सम्मान गरेको हो भने प्रदेश सरकारले खुला लेख प्रतियोगिता मार्फत् ६ जनालाई पुरस्कृत गरेको छ ।
प्रदेशमा पत्रकारिता मार्फत समाजको बहु आयामिक विकासमा टेवा पुर्याएकोमा अग्रज पत्रकार सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजु, विकाश पत्रकारिता सम्मानबाट चितवनका पत्रकार अनिल ढकाल, ग्रामीण पत्रकारिता सम्मानबाट मकवानपुरका पत्रकार शिवकुमार रिजाल ‘काशी’, प्रदेश गौरव पत्रकारिता सम्मानबाट नुवाकोटकी पत्रकार शक्तिमाया तामाङ र युवा पत्रकारिता सम्मानबाट सिन्धुलीका विक्रम रत्नलाई पुरस्कृत गरियो । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ।
उक्त अवसरमा प्रदेश सरकारले खुला लेख प्रतियोगिता मार्फत् ६ जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त लेख सङ्कलन तथा मूल्याङ्कन गरेको थियो । मन्त्रालयले सञ्चार रजिस्ट्रारको कार्यालयबाट मूल्याङ्कन गरिएका ६ जनालाई पुरस्कृत गरेको हो ।
जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुरेन्द्र कार्की प्रथम भएका छन् । कार्की मन्त्रालयका सूचना अधिकारी समेत हुन् । त्यस्तै प्रतियोगितामा मकवानपुरमा क्रियाशील रहेका पत्रकार सुनिता विष्ट, प्रेमकला पौडेल द्वितीय भए भने काठमाडौँका पत्रकार फणीन्द्र फुयाँल, पत्रकार अनीश मिजार, शिवराज योगी तृतीय भए । उनीहरू क्रमशः १५ हजार रुपैयाँ, १०/१० हजार रुपैयाँ र ५/५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता तथा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता कार्यक्रम भएकाे थियो ।