मकवानपुर । प्रदेश भित्रका प्रहरी चौकी निर्माणको लागि बागमती प्रदेश सरकारले ६ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले संघीय सरकार मातहतको ५ वटा प्रहरी चौकी भवनका निर्माणका गर्न उकत रकम ६ रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, मकवानपुरजिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि १ करोड ९८ लाख १ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ उपलबध गराउने निर्णय गरेको हो ।
यसैगरी चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार रुपैयाँ र जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आइतबारको बैठकले प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णय समेत गरेको छ । बैठकले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख दिने र नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र १ करोड १० लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेशका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रदेशका १० पालिकालाई १० लाख रुपैयाँका दरले स्थानीय विपद् कोषमा रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । दोलखाको गौरीशंकर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, र चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद्कोषमा १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले सिन्धुली अस्पतालमा यही जेठ ९ र १० गते हुन गएको भौतिक क्षतिको कारण इमर्जेन्सीबाहेक अन्य सेवा सञ्चालन गर्न अप्ठ्यारो परिरहेकाले अन्य सेवा सुचारु गर्न क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।