सालक स्तनधारी लजालु जनावर हो, यो प्याङ्गोलिनको नामबाट पनि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा फोलिडोटा फाइलमा राखिएको छ । जसको अर्थ खपटा भएको जनावर भन्ने हुन्छ । विश्वभर ८ प्रजातिका सालक पाइन्छ। नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन्: तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन र कालो सालक अर्थात चाइनिज प्याङ्गोलिन ।
झट्ट हेर्दा न्याउरीमुसा जस्तो देखिने यो स्तनधारी जीवको शरीरभरी बाक्लो र कडा खपटा हुन्छ । यो सानो डाइनोसरजस्तो देखिन्छ । सालकलाई विभिन्न स्थान समुदाय अनुसार फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ । सालकले जमिनको प्रांगारिक माटो खनेर जमिन बाहिर निकाल्ने गर्दछ यसले जमिनको उर्वराशक्ति बढ्छ । यसको साथै जमिन भित्रको माटो खुकुलो बनाइ जमिनभित्र बर्षातको पानि छिरेर जमिनको चिस्यान कायम गर्न मदत पु¥याउँदछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पु¥याउँदछ । त्यसैले सालकलाई किसानको साथी भन्ने गरिन्छ ।
हालसम्मको जानकारी अनुसार मकवानपुरमा दुबै प्रकारका कालो र तामे सालक पाइन्छ । मकवानपुरको चुरेको फेद जहाँ सालको जंगलको राम्रो उपस्थिति छ त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लांग पालुंगको जंगलमा समेत यसको उपस्थिति देखिन्छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुन्जको सिमा जोडिएको स्थानमा सालकको बसोबास छ । मकवानपुरको झण्डै एकसय वटा सामुदायिक वनमा सालक रहेको अनुसन्धानले देखाएको छ । स्थानीय सामुदायिक वनको उपभोक्तामा सालकबारे जानकारी भएपछि यसको संरक्षणमा सहजता हुँदै आएको छ । सालकको बैगुन केही छैनन्,बहुगुणले भरिपुर्ण जीव हो सालक यसको संरक्षण गरौ । जेठ ११ गते सहीखबर साप्ताहिककाे अंकमा प्रकाशित सम्पादकीय ।