मकवानपुर। दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ । विहीबार हेटाैडा ६ स्थित गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित गर्दै उपाधी हात पारेकाे हाे ।
काठमाडौंका लागि जीत दिलाउन सुजिता घलानले १० औं मिनेटमा र मनीषा थापा मगरले ५८ औं मिनेटमा गोल गरिन् । काठमाडौंकी सरिता ऐर प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् । अन्य व्यक्तिगत विधातर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट भए ।
महिला फुटबल तर्फ ९ टिमकाे सहभागिता रहेकाे प्रतियोगिता नकआउट आधारमा खेलाइएकाे थियाे ।
पुरुष फुटबलकाे उपाधीका लागि काठमाडौं र मकवानपुर भिड्ने
बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलकाे उपाधीकाे लागि मकवानपुर र काठमाडाै भिड्ने भएका छन् । विहीबारकाे समिफाइनल खेलबाट मकवानपुरले काभ्रेलाई र काठमाडाैले ललितपुरलाई हराउँदै फाइनलकाे समिकरण पुरा गरे ।
विहीबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलमा मकवानपुरले काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । यस्तै काठमाडाैले ललितपुरलाई १–० गोलअन्तरले पराजित गरेकाे हाे । मकवानपुरको जितमा कप्तान प्रितम स्याङ्बोले २ गोल गरे भने अर्को एक गोल अभिषेक लामाले गरे ।
काठमाडौंका लागि कब्बु कन्दङ्वाले ५०औं मिनेटमा गोल गरेका थिए । कन्दङ्वाकाे गाेल नै काठमाडाैलाई फाइनल यात्राकाे लागि निर्णायक गाेल भयाे । कन्दङ्वा म्यान अफ द म्याच घोषित भए । पुरुष फुटबलको फाइनल खेल शनिबार पिप्ले–क्याम्पा रंगशालामा हुने आयाेजक बागमती खेलकुद विकास परिषद्ले जनाएकाे छ ।