मकवानपुर । “धेरै पटक सालकको मासु खाइयो, गलत गरिएछ, यो त हामी किसानको साथी रहेछ” सालक संरक्षणबारे भएको एक अन्तरक्रिया कार्यक्रममा एक महिलाले भाबुक हुँदै भनिन्, “कानुन लाग्ने भनेको त आफ्नो ठाउँमा छ, कानुनको डरले भन्दा पनि हाम्रै भलाइकै लागि सालक बचाउनु पर्ने रहेछ ।” वर्षौ अघिदेखि वन फाट्टफुट्ट भेटीने सालकलाई मारेर मासु खाने गरेको तर पछिल्लो २ वर्षयता मात्रै आफूलाई सालकको महत्वबारे ज्ञान भएको उनले बताइन् ।
मकवानपुरमा दुर्लभ वन्यजन्तु सालकलाई ‘गौरवको प्राणी’ घोषणा गरिने भएको छ । विश्वमै दुर्लभ मानिएको सालक (प्यांगोलिन) लाई मकवानपुर जिल्लामा ‘गौरवको प्राणी घोषणा गरिएको छ । जिल्लाको प्रायः हरेक क्षेत्रमा पाइने शान्त एवम् लजालू स्वभावको स्तनधारी जनावर सालकको संरक्षण गर्ने उदेश्यका साथ गौरवको प्राणीका रूपमा घोषणा गरिएको हो ।
फेब्रुअरी महिनाको तेस्रो शनिबार अन्तराष्ट्रिय सालक दिवस मनाइँदै आएकोमा विश्वमै दुर्लभ वन्यजन्तु सालक प्रजाति गम्भीर जोखिममा परेकाले यसै दिन पारेर गत फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाईमा सालकलाई गौरबको प्राणी घोषणा गरिएको हो ।
डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले सालकलाई जिल्लाको गौरवको प्राणीको रूपमा घोषणा गरिएको बताए । प्रमुख आचार्यका अनुसार आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो जनावर मकवानपुर जिल्लामा भने यसको संख्या राम्रो रहेको छ । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाउनु पर्ने भएकोले यसको संरक्षणका लागि गौरवकै प्राणिका रुपमा घोषणा गरिएको हो ।
मकवानपुरको चुच्चेखोला, रानी, अशोक, न्युरेनी सामुदायिक बनमा सालकको संरक्षणको लागि पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालय राप्ती, मकवानपुरले सालकलाई यो जिल्लाको गौरवको रुपमा अगाडी बढाउन नियमित पहल गरिरहेको छ । यसको लागि बिभिन्न संघसंस्था, सामुदायिक वन, पालिका, बिद्यालय अनि युवाबर्गसंग यसको प्रवद्र्धनको लागि समन्वय र सहकार्य अनिवार्य भएको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख लालित घलानले बताए ।
सालकको मासु पोषिलो हुने र रोगव्याधी निको हुने अन्धविसश्वास, खपटा दबाई हुन्छ र अन्तराष्ट्रिय बजारमा बिक्री हुन्छ भन्ने भ्रमका कारण पछिल्लो समय सालक चोरी निकासी हुदै गएकोले लोप हुँदै जाने क्रममा रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको आचार्य बताउँछन् ।
यसैगरी साँघुरिदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले सालक लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ । यसको संरक्षणका लागि कार्यालयले विभिन्न योजना समेत सार्वजनिक गरेको उनी बताउँछन् ।
सालकको संरक्षणका लागि अवस्था पहिचान, वासस्थान, पारिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, संरक्षणमा स्थानीय जनताको उत्तरदायित्व समेत वृद्धि गर्ने कार्यहरू भइरहेको आचार्यले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरीदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँचवर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने हुँदा कति पय अवस्थामा थाहै नपाइ पनि यसको सिकार हुने गरेकाले सचेतना फैलाउन पनि आवश्यक रहेको उनी बताउँछन् ।
आचार्यका अनुसार सालक नेपालको संरक्षित वन्यजन्तु हो । संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । यो वन्यजन्तुले घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगल भएको क्षेत्रमा सालक पाइने गरेको छ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ ।
यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ ।
सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ । आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महशुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । विशेषगरी चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको बढी माग हुन्छ । चीन र भियतनामका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु खानु प्रतिष्ठासँग जोडेर हेर्ने चलन छ । त्यसैगरी यसको शरीरमा हुने खबटा बुलेट–प्रुफ ज्याकेट तथा उच्च कोटिको टाँक बनाउन र महँगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुने गरेको छ ।
यसैगरी सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ । एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ । त्यसो नगर्ने हो भने किरा र कमिलाका कारण हाम्रा बालीनाली फस्टाउन सक्दैनथे । यसले जमिन खोस्रेर उर्वरा बनाउँछ । सालक नेपालमा संरक्षित वन्यजन्तु समेत भएकोले यसलाई संरक्षण गरी जोगाउन आवश्यक रहेको आचार्यले बताए ।
के हो किसानको साथी सालक
सालक स्तनधारी लजालु जनावर हो, यो प्याङ्गोलिनको नामबाट पनि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा इचमभचस् एजयष्मियतब मा राखिएको छ, जसको अर्थ खपटा भएको जनावर (Order: Pholidota) भन्ने हुन्छ । विश्वभर ८ प्रजातिका नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन्: तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन र कालो सालक अर्थात चाइनिज प्याङ्गोलिन ।
झट्ट हेर्दा न्याउरीमुसा जस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ । यो सानो डाइनोसरजस्तो पनि देखिन्छ । सालकलाई विभिन्न स्थान समुदाय अनुसार फरक फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ संरक्षणमा लागि परेका आचार्यले बताए । लमजुङ क्षेत्रमा यसलाई ‘पाखेमाछो’ को नामले चिनिन्छ । सालकको साँघुरिदै गएको लाम्चो शरीर हुन्छ र थुतुनो, पेट र खुट्टामा बाहेक सबैतिर एकआपसमा खप्टिएका खपटाले ढाकेको हुन्छ । यस बाहेक खपटामुनि पहेंला जगरजस्ता रौँ पनि उम्रेका हुन्छन् । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ ।
तामे सालक प्रजातिको सालक हल्का रातो वर्णको हुन्छ । यो प्रजाति हिमालयको दक्षिणी भेगमा समथर तथा कम भिरालो जमिनमा पाइन्छ । यो नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा समेत पाइन्छ । तामे सालक सबै प्रकारका उष्ण प्रदेशीय वन र घाँसेमैदानमा पाइन्छ । तामे सालकविशेष गरी समुद्र सतहबाट करिब १,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको शरीरको तौल ९ देखि ११ किलोग्राम, शरीरको लम्बाई ६० दशमलब ७५ से.मि. र पुच्छरको लम्बाई ४५ से.मि. हुन्छ ।
यसैगरी कालो सालक हल्का कालो वर्णको हुन्छ । आचार्यका अनुसार यो प्रजातिको सालक नेपालको पूर्वी क्षेत्रलगायत पूर्वी भारत, चीन, लाओस, थाइल्याण्ड, भियतनाम, म्यानमार र बङ्गलादेशमा पनि पाइन्छ । यो तल्लो पहाडी भेगमा प्राकृतिक वन नभएको वनक्षेत्रमा समेत पाइन्छ ।
यो प्रजाति मुख्यतयाः उष्ण प्रदेशीय वन र उपोष्ण प्रदेशीय वनमा पाइन्छ । कालो सालकविशेष गरी समुद्र सतहबाट करिब १,००० देखि २,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको तौल करिब ९ किलोग्राम, शरीरको लम्बाई ४८ देखि ५८ से.मि., पुच्छरको लम्बाई ३३ देखि ३८ से.मि. हुन्छ ।
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ तर यसले कमिलालगायत साना कीरा पनि खान्छ । विशेषगरी सालक धमिराको शत्रु हो । एउटा बयस्क सालकले एक दिनमा अनगिन्ति धमिरा र किरा कमिला खान्छ । यसको शरीर खपटाले ढाकिने र प्रमुख आहारा कमिला धमिरा हुनाले यसलाई स्केली एन्टएटर पनि भनिन्छ । यसले अन्नबाली, पशुचौपाया आदि कसैलाई पनि हानि नोक्सान गर्दैन । सालकले किसानको बालीनाली नोक्सान गर्ने किरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानवसमुदायका लागि हितकारी जीव हो ।

सालकले जमिनको प्रांगारिक माटो खनेर जमिन बाहिर निकाल्ने गर्दछ यसले जमिनको उर्वराशक्ति बढ्छ । यसको साथै जमिन भित्रको माटो खुकुलो बनाइ जमिनभित्र बर्षातको पानि छिरेर जमिनको चिस्यान कायम गर्न मदत पु¥याउँदछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पुर्याउदछ । त्यसैले सालकलाई किसानको साथी भनेर भन्ने गरिन्छ । तर यो ज्ञानको अभावमा निर्दोेष सालकहरु मारिएका छन् ।
हालसम्मको जानकारी अनुसार मकवानपुरमा दुबै प्रकारका कालो र तामे सालक पाइन्छ । मकवानपुरको चुरेको फेद जहाँ सालको जंगलको राम्रो उपस्थिति छ त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लांग पालुंगको जंगलमा समेत यसको उपस्थिति देखिन्छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुन्जको सिमा जोडिएको स्थानमा सालकको बसोबास छ ।
वासस्थान
मकवानपुरको झण्डै एकसय वटा सामुदायिक वनमा सालक रहेको अनुसन्धानले देखाएको छ । स्थानीय सामुदायिक वनको उपभोक्तामा सालकबारे जानकारी भएपछि यसको संरक्षणमा सहजता हुँदै आएको छ ।
यो समुद्र सतहबाट करिब २,००० मिटरसम्मको उचाइमा विशेषगरी सालको जङ्गलमा पाइने गरेको छ । यस जनावरको वितरण पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा निकै बढी रहेको छ ।
किन हुँदैछ लोप
सालक विश्वमै बढी चोरी शिकार हुने प्राणीमध्ये एक हो । अवैध चोरीनिकासी नै सालक लोप हुनुको प्रमुख कारण भएको डिभिजन वन कार्यालय राप्ति मनहरीको ठहर छ । केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्ला समयमा खबटा÷कत्लाका लागि विदेश चोरी, निकासी हुने गरेको छ । यसले गर्दा सालकको सङ्ख्या घट्दै गएको छ । जलवायु परिवर्तन, समुदायमा जनचेतनाको कमी, साँघुरिदै गएको बासस्थान, वन डडेलो, वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण तथा विषादी खाएर मरेका कीरा खानाले हुने मृत्यु आदि सालकको सङ्ख्या घट्नुका थप कारण तथा चुनौतीका रुपमा रहेका छन् ।
नेपालमा सालकको संरक्षण एवं कानुनी प्रावधान
सालक नेपालको संरक्षित जनावर हो । संरक्षित क्षेत्रसँगै समुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले तामे सालकलाई सङ्कटापन्न र कालो सालकलाई अति सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धिको अनुसूची १ मा राखेको छ ।
नेपाल सरकारको राष्ट्रिय निकुञ्जमा तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकसहित २७ प्रजाति स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखी संरक्षिण गरिरहेको छ ।
त्यसैगरी यस ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा, घाइते बनाएमा वा यसको अङ्गको व्यापार गरेमा १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
पछिल्लो समय नेपाल सरकारको बाघ, गैंडा, हात्ती, कस्तुरी, हाब्रे जस्तै सालकलाई अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकताका साथ अघि सारेको छ ।