मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएको छ । जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल विहीबार सकिएको हो ।
उक्त विधेयकमाथि जेठ ९ गतेबाट सुरु भएकाे सभाकाे दाेस्राे अधिवेशनकाे तेस्राे वैठकसम्म नियमित चलेकाे छलफलमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गर्दै सरकारलाई विभिन्न सुझावहरु दिएका थिए । छलफलमा प्रदेश सभाका सदस्यहरुले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्नेखालको विकासको पूर्वाधार, गुणस्तरीय स्वास्थ्य उपचार र मेडिकल शिक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
विहीबार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले उक्त विनियोजित बजेटमाथिको छलफलमा उठेका विभिन्न राष्ट्रिय सरोकारको विषयहरुमा जवाफ दिए । उनले विनियोजित विधेयको सौद्धान्तिक र प्राथमिकतामा सदस्यहरुले उठाएका भावनात्मक मर्मलाई आत्मसात गरी सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने, जिल्लाको भौगोलिक अनुसार बाढीपहिरोबाट प्रभावित हुने क्षेत्रलाई सम्बन्धित निकायमार्फत तटबन्धनको निर्माण गर्न, पीडित परिवारलाई उद्धार गरी पुर्नस्थापन गर्न कार्यलाई तीब्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । यसैगरी उनले प्रदेशमा सुशासनको रणनीतिलाई व्यापकता बनाउने, भ्रष्टाचार नियन्त्रणको लागि उच्च प्राथमिकतामा राखेर सरकारको संयन्त्र परिचालन गर्ने बताए ।
नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक हुने
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेष्ठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेशकाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ १४ गते प्रस्तुत गर्ने भएका छन ।
प्रदेश सभाको जेष्ठ १४ गते अपराह्न २ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख भुवनकुमार पाठकले विहीबारकाे बैठकमा जानकारी दिए ।
सभामुख पाठकले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन प्रदेश सभाका सदस्यहरुलाई औपचारिक वोशकसहित उपस्थित हुन आह्वान समेत गरेका छन् ।