मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बाल विवाह विरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम गाउँपालिका अध्यक्ष राज कुमार मल्लको उपस्थितीमा गरिएको हो ।
राक्सिराङ विकास संस्थाको अध्यक्ष जयकान्त प्रजाको अध्यक्षता भएको अभिमुखीकरणमा राक्सिराङ प्रजा जागृत माध्यमिक विद्यालय चैनपुरको ७० जना बालबालिकालाई बालविवाह बारे सचेतना अभिवृद्धि गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले बाल विवाह गाउँपालिकाको लागि चुनौती भएको स्विकार गरे । यसका विरुद्धको अभियानलाई प्राथमिकतामा राखेको बताउँदै बालबिबाह अन्त्य स्वयं बालबालिकाको प्रयासबाट हुने बताए ।
राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत देबचन्द्र गर्तौलाले बाल विवाहको कारणले बालबालिकाको जीवनमा नै नकारात्मक असर पर्ने, बाल विवाहले आमा र शिशुको मृत्यु समेत हुन सक्ने भएकोले लहैलहैमा आफ्नो जीवन खेर नफाल्न आग्रह गरे ।
कार्यक्रम बाल कल्याण समाजको अध्यक्ष प्रकाश खतिवडाले सहजिकरण गरेका थिए । उक्त कार्यक्रम राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गडतौलाको बिशेष आतिथ्यमा र ५ नम्बरको वडा अध्यक्ष हरीबहादुर प्रजा, विद्यालयको प्रधानाध्यापक सुर्यबहादुर प्रजा, विद्यालय ब्यवस्थापन समितीका सदस्य गणेश लामा, राक्सिराङ विकाश सस्थाका सचिव बिमला प्रजा, सदस्यहरु सोम चेपाङ, देब बहादुर थिङलगायतको उपस्थिती रहेको थियो ।