मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ ।वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको हेटौंडा उपमहानगरपालिका रोजगार संयोजक बिजन श्रेष्ठले बताए । श्रम स्वीकृतिका लागि बैशाख १ गतेबाट अनलाइन प्रणालीको सुरुआत भएसँगै यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले उपमहानगरपालिकाले काम सुरु गरेको उनले जानकारी दिए ।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक बिजन श्रेष्ठले बताए बताए ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए । ‘प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ’ संयोजक श्रेष्ठले भने, ‘आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाइनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने व्यवस्था छ ।’
श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइने भएकाले वैदेशिक रोजगारीमा जान चाहनेलाई सहज भएको छ । हाल सम्म उपमहानगरपालिकाबाट २ जनाले श्रम स्वीकृति लिएका छन ।