मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदमा सिफारिस गरेका मकवानपुरका विन्वासिनी कंसाकारले सांसादकाे सपथ लिने बाटाे खुलेकाे छ । रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि कंसाकारकाे सपथ लिने बाटाे खुलेकाे हाे ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेकाे थियाे । निलम्बनमा परेका श्रेष्ठकाे स्थानमा कंसाकारलाई सांसद पदमा स्थापित गर्ने रास्वपाले निर्णय गरेको थियो । सो निर्णयको प्रति निर्वाचन आयोगलाई बुझाए लगत्तै आयोगले कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।
सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । यसअघि सर्वोच्च अदालतले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न श्रेष्ठले रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।