मकवानपुर । दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा मकवानपुरले २ स्वर्ण पदक जितेकाे छ । मगलबार भएकाे एथलेक्टिक्स तर्फकाे २ मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जितेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेकाे प्रतियोगितामा २ सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका गोपालीले महिला तर्फ र सापकोटाले पुरुष तर्फकाे दौडमा स्वर्ण पदक जितेका हुन् । हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा भएकाे दौडमा दिनाले निर्धारित दुरी २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड मा पुरा गरी स्वर्ण पदक हात पारेका हुन् । महिला तर्फ भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे भने ।
पुरुषतर्फ मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते । महिला ८ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले २ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदका प्राप्त गर्दा यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जितेका छन् । ८ सय मिटर पुरुष दौड विधामै पुरुष तर्फ चितवनका अृमत बोटले स्वर्ण हात पार्न सफल भए । उनले यो दूरी २ मिनेट ८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदका जितेका हुन् । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए ।
५ हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण पदका हात पार्दा काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक मा चित्त बुझाए । यसै विधाको महिला तर्फ सिन्धुपाल्चोककै निनु तामाङले २१ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते ।
यसैगरी महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक हात पारे भने चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते । पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचण्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए । महिला तर्फकाे सटपुटमा चितवनकी अप्सरा श्रेष्ठले स्वर्ण जित्दा सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक हात पारेका छन् ।